
काठमाडौँ । नेकपा माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष असिम राई पार्टी संगठन विस्तारका लागि हिमाली भेग खुम्बु प्रवेश गरेका छन् । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत युवा लोकप्रिय नेता असिम राई खुम्बु प्रवेश गरेका हुन् ।
सोलुखुम्बुमा माओवादीको तुलनात्मक रुपमा खुम्बुपासाङल्हमु गाउँपालिका कमजोर संगठन भएको क्षेत्र मानिन्छ । एमालेको पक्कड मानिएको खुम्बुमा माओवादी संगठन मजबुद बनाउन जिल्ला अध्यक्ष असिम राई आफैँ खटिएका हुन् । भदौ १५ गते खुम्बुपासाङल्हमु गाउँपालिका–२ लुक्लामा पार्टीका नेता कार्यकर्ताहरुसंग समसामयिक राजनीतिक स्थिति र आगामी पार्टी रणनीतिका बारेमा अन्तरक्रिया गरेका राई एक महिना नवित्दै पुन खुम्बु पुगेका हुन् । शुक्रबार लुक्ला अवतरण गरेका राई संठगन सुदृढिकरणका लागि खुम्बुका ५ वटै वडामा पुग्ने योजनामा छन् । लुक्ला हुँदै चौरीखर्क, घाट, फाक्दीङ, टोक टोक, नाम्चे तथा खुम्जुङसम्म पुगि संगठनलाई पुनर्ताजकीकरण गर्दै संगठन विस्तारमा केन्द्रीत हुने नेता राईको सचिवालयले जनाएको छ ।
हिमाली तथा पर्यटकीय क्षेत्र खुम्बुमा एमालेको पहिलो पक्कड छ । गत स्थानीय तहको निर्वाचनमा खुम्बुपासाङल्हमु गाउँपालिका–४ मा एक जना दलित सदस्य बाहेक पाँच वटै वडा र गाउँपालिकामा एमालेले क्लीनस्विप गरेको थियो । पहिलो स्थानीय तह निर्वाचनमा यहाँ एमालेसंग काँग्रेस बलियो प्रतिस्पर्धी देखिए पनि दोस्रो पटकको निर्वाचनमा पहिलेको तुलनामा थप शिथिल देखिएको थियो । माओवादी केन्द्रका उम्मेदवारहरुले पनि अघिल्लो पकटको मतलाई समेत जोगाउन सकेनन् । एमालेको एकछत्र राजनीति चलिरहेको खुम्बुमा माओवादी केन्द्र आक्रामक रुपमा संगठन विस्तारमा केन्द्रीत बनेको हो । गत भदौ १५ गते आयोजित लुक्ला भेलामा असिम राईले झण्डै दुई दर्जन स्थानीय युवाहरलाई माओवादी केन्द्रमा पार्टी प्रवेश गराएका थिए ।
झण्डै एक हप्ता लामो यस पटकको यात्रामा हरेक टोलमा माओवादी केन्द्रलाई सक्रिय बनाउने राईको तयारी छ ।
वि.स. २०७४ सालको स्थानीय तहको निर्वाचनमा सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा कमजोर माओवादी धरातलका बीच अध्यक्षमा निर्वाचित भएका असिम राईको संगठन विस्तार क्षमता चामत्कारीक देखिन्छ । जनप्रिय काम गरि थुलुङदुधकोशी गाउँपालिकामा रुचाइएका राई दोस्रो पटकको निर्वाचनमा झन धेरै मत र सिट ल्याई विजयी भएका थिए ।
कुशल संगठककै रुपमा परिचय बनाएका राई माओवादी केन्द्रको जिल्ला अध्यक्ष भएपछि कमजोर धरातल भएको खुम्बुमा संगठन विस्तारमा आफैँ खटिएका हुन् । राईले भने, ‘हामी खुम्बुमा अहिलेको अवस्थामा पक्कै कमजोर देखिएका छौँ तर मिसन ८४ मा हामी खुम्बुलाई चमत्कार देखाउनेछौँ । हामी परिणाम उल्ट्याउनेछौँ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com