साउन, २४ । आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलन्छ। यो वर्ष यो रोग तराई भेगबाट देखिन सुरु भएको हो। अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै काठमाण्डूसम्म आइपुगेका छन्।
यो एडिनो भाइरसको सङ्क्रमणका कारण देखिने समस्या हो। यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई सङ्क्रमित गर्छ। यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्क्टिभाइटिस भनिन्छ र आम भाषामा आँखा पाकेको भनिन्छ।
कन्जङ्क्टिभाइटिस भाइरस वा ब्याक्टेरियामध्ये एउटाको कारण हुन्छ। ब्याक्टेरियाले हुने कन्जङ्क्टिभाइटिस बाह्रैमास सक्रिय रहन्छ। भाइरस कन्जङ्क्टिभाइटिस भने विशेषतः गर्मी महिनामा वा गर्मी सकिएर हिउँद सुरु हुने समयमा सक्रिय हुन्छ। तराई वा गर्मी स्थानहरूबाट यसको प्रकोप सुरु हुनुले यस पटक गर्मीसँगै यो भाइरस सक्रिय भएको देखिन्छ।
यद्यपि सङ्क्रमित व्यक्तिमा भाइरस कन्जङ्क्टिभाइटिससँगै ब्याक्टेरिअल कन्जङ्क्टिभाइटिसको पनि असर पर्ने सम्भावना ज्यादा हुन्छ।
कसरी जोगिने ?
सङ्क्रमितको आँखामा हेर्दैमा यो रोग सर्दैन। तर सङ्क्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले सङ्क्रमण सार्छ।
त्यसैले बिरामीको आँसु, चिप्रारकचेराबाट जोगिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसका लागि सङ्क्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनु पर्छ। आफूले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाललगायत सामग्रीहरू अरूको पहुँचबाट टाढा राख्नुपर्छ।
सङ्क्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ। विशेषगरी सङ्क्रमित बालबालिका तथा वृद्ध वृद्धाको ख्याल राख्ने मानिसहरूले आफूलाई जोगाउनु चुनौतीपूर्ण हुनसक्छ। सबैले हातले नाक, आँखा र मुख नछुनु अहिलेका लागि प्राथमिक उपायहरू हुन्। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com