फागुन, १७ । सिन्धुपाल्चोकलाई पृष्ठभुमिमा राखेर राजनीति गरिरहेका माओवादी पोलिटब्यूरो सदस्य तथा संघीय सांसद माधव सापकोटा सुबोध इमान्दार राजनैतिक छबि भएका व्यक्ति हुन् । सार्वजनिक पद धारण गरेको ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्थालाई टेकेर सम्पत्ति विवरण बुझाउने उनी पहिलो माननीय समेत बने ।
२७५ प्रतिनिधिसभा सदस्यहरुमध्ये सवैभन्दा पहिले सम्पत्ति विवरण बुझाएर राजनैतिक छबिमा प्रसंसा बटुलेका सांसद सुबोधले अहिले स्रोत नखुलेको सम्पत्ति सिधै राष्ट्रियकरण गर्न प्रस्ताव गरेका छन् । सांसद सुबोधले प्रतिनिधिसभामा स्रोत खुलाउन नसकेको सम्पत्तिमा कर निर्धारण गरेर नियमित बनाउने प्रस्तावसहितको विधेयक दर्ता समेत गरेका छन् । स्रोत नखुलेको सम्पत्तिलाई वैधता दिँदा आपराधिक क्रियाकलाप मार्फत जम्मा गरेको अवैध धन शुद्धिकरण हुन सक्ने भन्दै सांसद सुबोधले त्यस्तो सम्पत्ति सोझै राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेका हुन् । उनले संशोधन प्रस्ताव दर्ता गर्दै भनेका छन् ‘लगानी प्रवर्द्धनको उद्देश्यले स्रोत नखुलेको सम्पत्तिलाई पनि वैधता दिने प्रावधानले सम्पत्ति शुद्धीकरणलाई नै सघाउने जोखिम रहन्छ ।’
२०७९ माघ २७ मा प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को दफा ३० मा स्रोत नखुलेको सम्पत्ति कर तिरेर नियमित गर्न सकिने व्यवस्था छ । विधेयकमा सम्पत्तिको स्रोत खुलाउन नसकेको र अनुसन्धान गरिएको व्यक्ति उपर कुनै अरु कसुर र सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा चल्ने अवस्था नदेखिएमा स्रोत खुलाउन नसकेको सम्पत्तिको कर निर्धारण गर्न सकिने व्यवस्था छ ।
विधेयकमा सम्पत्तिको कर निर्धारणका लागि पत्र आएमा आन्तरिक राजस्व विभागले कर सम्बन्धी कसूर गरे वा नगरेको यकिन गर्नुपर्ने प्रस्ताव गरिएको छ । कुनै कसुर नभेटिएमा त्यो वर्षको आय मानेर अधिकतम कर निर्धारण गर्नुपर्ने प्रस्ताव छ ।
आफूले व्यक्तिगत रुपमा संशोधन प्रस्ताव राखेको उल्लेख गर्दै सापकोटाले पार्टीमा छलफल नगरेको बताए । उनले भने, यो मेरो व्यक्तिगत धारणा संशोधनमा राखेको हुँ ।’ सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा १०५ वटा संशोधन परेको छ । सभामुखले प्राप्त संशोधन स्वीकृत गरेपछि प्रतिनिधिसभाले थप प्रक्रिया अगाडि बढाउनेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com