जेठ, ८ । सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष बिहिन भएको छ । सिंहदरबारमा मंगलबार बसेको कार्यदल बैठकमा कार्यादेशका बिषयमा बिभिन्न कोणबाट छलफल भएपछि सहमति भने जुट्न नसकेको हो । यद्धपी कार्यदल सदस्यहरुले बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बैठक सकारात्मक भएको भन्दै छलफल सहमति उन्मुख भएको जानकारी दिनुभयो । बैठकमा विभिन्न विकल्पहरूबारे छलफल भएको भएपनि निष्कर्षमा भने पुगिनसकेको उहाँले बताउनुभयो । सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्नेमा सहमति बनेको भन्दै अर्को बैठकमा टुंगोमा पुग्ने मन्त्री गिरीले बताउनुभयो ।
नाम किटान गरेर जाने नै प्रमुख प्रतिपक्षको अडान रहेको र व्यक्तिको नाम किटान गर्न नहुने सत्ता पक्षको अडान रहेको भन्दै मन्त्री गिरीले छानबिनअगाडि नै दोषी करार गर्नेकुरा न्यायोचित नहुने र त्यसअनुसार सरकार संसदीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताउनुभयो । छिटो भन्दा छिटो निस्कर्षमा पुगेर छानबिन समितिलाई कामको जिम्मेवारी दिएर अघि बढाउने गरी अघि बढ्ने उहाँको भनाइ छ ।
त्यस्तै कार्यदल सदस्य तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले सहकारीको रकम अपचलनमा गृहमन्त्री संलग्न रहेकाले नाम किटान गरेरै कार्यादेश बनाउने बटमलाइन कायम राखेको कुरा बैठकमा उठाएको जानकारी दिनुभयो । यसबारेमा थप छलफल गरी सहमतिबाट अघि बढ्ने कुरामा छलफल भएको पनि उहाँको भनाइ छ । त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समिति गठनका बिभिन्न बिषयमा छलफल भएपनि कुनै छलफल नभएको धारणा राख्नुभयो । उहाले संसदको प्रक्रियालाई अघि बढाउने सहमति भएको जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सौहाद्रपूर्ण वातावरणमा छलफल भएको र सहमतिबाटै टुंग्याउने दिशामा छलफल भएको जानकारी दिनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com