सुवाश जमरकट्टेल
पुष, १८ । मान्छे जिन्दगीमा जति सुकै सुख र रमाइलाका पलहरु विताओस् ति सबै भुल्न सक्छ । तर दः्ुखको सानो घटना पनि भुल्न सक्दैन । म दुःखको यो भयानक महासागरमा डुबेको आज ६८ औं दिन । सानो दुःख त नभुल्ने मानव स्वभाब यो महासागरलाई भुल्न खोजेर पनि सम्भव नहुने रहेछ ।
दैनिक गोरेटाहरु सहजै थिए । पारिवारीक व्यवस्थापनको सम्पुर्ण जिम्मा मेरै काँधमा भएपनि सबैले आ आफ्नो ठाँउमा भुमिका निर्वाह गर्नाले मलाई पनि आफ्नो गोरेटामा हिड्न खासै बाधा अडचनहरु थिएनन् । आफ्ना लक्ष्य, उदेश्य र सपनाहरु पूरा गर्न चालिएका हरेक पाइलाहरु सफलताका सिढी उक्लिदै थिए । सोलुखुम्बु जस्तो विकट हिमाली जिल्लाको दुर्गम गाँउमा जन्मिहुर्की त्यँहीको माटोमा आफ्नो परिश्रम पोख्दैै हदैसम्मको दुःख कष्ठ सामना गरी बाबुनानीको शिक्षा स्वास्थ्यका लागि सपनाको सहर देशको राजधानीमा आफ्नै छानामुनि ओत लाग्ने व्यवस्था मिलाउँदै थिएं । विधिको विडम्वना सुनकोशी झैं लमतन्न लम्वेतान सपनाहरु बाँकी हुदाँ हुदै सुनकोशी कै तिरमा ती सारा सपनाहरु विलिन भए । सपना झैं लाग्ने त्यो निमेश भरको चोटले मेरो मात्र मेरुदण्ड भाँचिएन एकै चोटले मेरो सारा परिवार कै साहारा र भरोसाको लठ्ठी भाँचियो । मैले बाँच्नका लागि मात्र अस्पतालको बेडमा यति ठुलो संघर्ष गर्नु परेको छ भने मेरो परिवारको के अवस्था होला उफ्फ … ।
हरेक कुराको सत्य समय र परिस्थिति अनुसार फरक पर्ने रहेछ । एउटै शब्दको पनि विषय वस्तु र भाव अनुसार फरक अर्थ लाग्ने रहेछ । अन्तिम भन्ने कुरा एउटा मात्र हुन्छ तर अपवाद मेरो जिवनमा धेरै अन्तिम रातहरु आए । त्यो अन्तिम रात परिवारसँगै घरमा विताएको थिएं । छोरा छोरीका थुप्रै मागहरु थिए । श्रीमतीका धेरै रहरहरु थिए । बृद्धावस्थामा छोराको साहारा खोज्दै गरेका आमा बुबाको बैशाखी बनेर पुरा गर्नु पर्ने निकै जिम्मेवारीहरु बाँकी नै थिए । यी सारा माग, रहर र जिम्मेवारीहरु कुशलता पूर्वक पूरा गर्ने दृढ संकल्पका साथ परिवारसँगै गन्थन गदैं विताएको रात नै अन्तिम रात रहेछ मेरो । जिवन भर ओत लाग्ने र त्यँही अन्तिम मृत्युवरण गर्ने लक्ष्यमा निर्माण गरेको घरको आधा ऋण पनि तिर्न नपाउँदैं त्यो घरबाट निस्केको पाइला घरमा फर्कने सम्भावना निकै न्युन छ । फर्कीहाले पनि आफ्नो पैतालामा उभिन नसक्ने अपाङ्ग भएर फर्किनु पर्ने यो कठोर यथार्र्थलाई स्विकानु पर्ने भएको छ ।
बाल्यकालमा सँगै अध्ययन गर्ने बालसखी जुना राईले झुण्डिएर आत्म हत्या गरिन, चेतनाथ भण्डारी घाँस काट्न भिरमा जाँदा लडेर मृत्यु भयो, आफु अपाङ्ग भए पनि छोराको साहारामा बाँच्ने सपना बोकेका गोविन्द कट्टेलका एक मात्र छोरा कुबेरको जरो निमोनियाका कारण मृत्यु भयो, कलिलो उमेरमा राण्ट्रको सुरक्षामा समर्पित अडी बहादुर भण्डारीले जनयुद्धको समयमा विरगती प्राप्त गर्नु भयो, सपनाको सहरमा आफ्नो भविष्य खोज्दै गर्दा सडक दुघटनामा मृत्युवरण गर्ने सुक्रराज राई लगाएतका साथिहरुको मृत्युमा मैले आफ्नो जिवन खोज्ने प्रयत्न गरें मृत्युलाई भन्दा जिवनलाई नियाल्ने कोशिष गरें । तर उनीहरुलाई कलिलै उमेरमा लिन आएको मृत्युले कसैलाई पनि छोडदैन, मलाई पनि छिटै लैजान सक्छ भन्ने लागेन । धेरै मान्छेहरुले ‘दुई दिनको जिन्दगी’, ‘जिन्दगीको के भरोसा’, ‘आज छ भोलि छैन’ जस्ता शब्दहरु बेल्ने गरेको सुने पनि ति शब्दहरुलाई त्यति महत्व दिए जस्तो लाग्दैन थियो । तर आज आफ्नै मृत्यु आफैं सामु आएर उसै सित मुकाविला गरेर बाँच्नु पर्ने यो परिस्थितिले बल्ल मृत्युको बोध भएको छ । जिवनमा एकछिन पछि के हुन्छ थाहा नहुने रहेछ । त्यसैले लामा लामा योजनाहरुको जाल बुनेर बस्नु बेकार रहेछ । बरु हरेक दिनलाई हरेक रातलाई अन्तिम मानेर बाँच्नु र निदाउनु पर्ने रहेछ । हो त्यहि वास्तविकताको कठोर भुमरीमा छु म आज ।
भुमरीको विचबाटै मैले दोस्रो जुनी प्राप्त गरेको छु । पहिलो जन्म आमाको गर्भबाट हुन्छ । दोस्रो जन्म मृत्युशैयाको भुमरीबाट हुने रहेछ । पहिलो जन्म शारिरिक रुपमा साङ्ग भएपनि दोस्रो जन्म जन्मजात अपाङ्गतालाई स्विकार्नु पर्ने रहेछ । हामी बाँच्ने भुगोलमा अपाङ्गता भएकालाई कमैले मात्र मानवको व्यवहार गर्ने गर्दछन् । बाँकी धेरैले मानव भन्दा पृथक प्राणी सरहको व्यवहार देखाउछन् । त्यसैले गर्दा मेरो यो दोस्रो जुनीको प्रमुख कर्तव्य र जिम्मेवारी ति साङ्गशरिर र मानसिक गरिबीमा बाँचेकाहरुलाई अपाङ्गता शिक्षा र मानवताको पाठ पढाउनु हुनेछ ।
हरेक मान्छेको अन्तिम यात्रा घर देखि मसान घाट सम्म हुने गर्छ । त्यही अन्तिम यात्राको संघारमा पुगेर रोकिनु नै जिवनको अहो सौभाग्य रहेछ । सायद मेरो त्यो दिनको यात्रा नै अन्तिम यात्रा रहेछ तर कुन सौभाग्यले यात्रा विचैमा रोकिन पुगेछ । जसको फलस्वरुप आज म अन्तिम रात विताई रहेंछु । त्यो यात्रा नरोकिंदो हो त आज सम्म मेरा नाममा धेरै अन्तिम शब्दहरु व्यक्त भई सकेका हुने थिए होला । त्यो कहालि लाग्दो अन्तिम यात्राको विचबाट कुन भगवानले मलाई थुतेर दोस्रो जुनी दिए त्यो कल्पना बाहिरको कुरा भयो । कल्पना र विस्मृतिमा आए सम्म त्यो अवस्थामा मलाई पेशल कट्टेल र किसान राईले नभेट्नु भएको भए अवस्था जे पनि हुन सक्थ्यो । जब उहाँहरुले भेटेर मेरो उद्धार र प्राथमिक उपचारको व्यवस्था मिलाई आफन्तलाई खबर गरि दिनु भयो त्यो नै सबै भन्दा ठुलो भगवान मिल्नु भयो । उहाँहरुको खबर अनुसार नै दाई केशब र भाई वेदराजले हेलिकप्टरबाट रेस्क्यु गरी यहाँ ल्याएर राखेको पनि ६८ औं दिन विति सक्यो ।
उफ् ६८औं दिन सम्म यो उत्तानो सुताई, अर्काको स्याहार सुसारमा बाँच्नु कति दिक्दार लाग्ने रहेछ । अझैं कम्मर मुनिको आधा शरिर चल्दैन् । कति दिन नचल्ने हो ? कति समय पछि चल्ने हो कुनै ठोस आधार छैन । डाक्टरहरुले आफ्नो तर्फको उपचार लगभग सकिएको जानकारी दिनु भएको छ । अबको बाँकी उपचार भनेको फिजियो थेरापी मात्र हो रे । सोही अन्ुसार परिवारले फिजियो थेरापीको लागि काभ्रेको स्पाइनल कर्ड इन्जुरी रिह्याविटेसन सेन्टर रोजि सक्नु भएको छ । त्यसैले यस हस्पिटलको बसाई आज अन्तिम रात हो ।
यो अन्तिम शब्द सम्झदै कति नमिठो लाग्ने रहेछ । भोलि यहाँबाट डिस्चार्ज भएर अर्कै हस्पिटल जानु छ । चौविसै घण्टा एकोहोरो उत्ताने परेर सुतेको यो चिता जस्तो बेडको पनि माया लाग्ने रहेछ । दुर्घटनाले क्षतविक्षद भएको शरिर काट्कुट र पाठपुर्जा जोडि दिने डक्टरहरुको पनि माया लाग्ने रहेछ । “फलेको हाँगा नझुकेको कहाँ छर” भने झैं डाक्टर देखि गेटपाले सम्मको व्यवहार शिष्ट छ । सबैले सबैको मान सम्मान र आदर गर्छन । नर्सहरुको नर्सिङ केयर उत्कृष्ट छ । कुनै पल पनि झर्को फर्को झञ्जट र अल्सि भाव छैन उनिहरुमा । यो माघ महिना काठमाडौंमा चिसोले आफ्नो साम्रज्य फिँजाएको होला । तुसारो र हुस्सुले उपत्यका पुरै ढाकेको होला । तर पनि यो सुविधा सम्पन्न भवन भएका कारण चौविसै घण्टा एउटै तापक्रमको व्यवस्था मिलाईएको छ । चिसो जाडोको कुनै प्रवाह छैन । आफुलाई केहि असहजता भएमा बेल बजाउन मिल्ने व्यवस्था छ । छिस्स केहि भयो कि डाक्टर र नर्सहरु आई पुगि हाल्नु हुन्छ । लामो बसाई र गम्भिर चोटका कारण डा. गोपाल रमण शर्मा, डा. प्रकाश पौडेल, डा. दिप्सन, नर्सहरु सुनिता, रस्मि, प्रमिला र राधाहरु आफ्नै परिवारको सदस्य जस्तो लाग्न थालेको छ । खाना, खाजा र औषधी बेडमै आई पुग्छ । कोही कुरुवाले खोज्न जानु पर्दैन । यो हस्पिटल काठमाडौंको मुख्य बाटो रिङ्गरोडको साइड मै भएको हुनाले भेट्न र मेरा दुःख हेर्न आउने शुभचिन्तकहरुको लागि पनि यो ठाँउ सहज छ । त्यसैले त दिनौं सयौं जना शुभन्तिकहरु ऋाउनु हुन्छ । तर अब भोलिबाट यी सब सेवा सुविधा र आफन्तहरुलाई छोडेर जानु नै पर्ने छ । जहाँ यी सेवा सुविधाहरु नहुन सक्छन् । चिनजानको कोही नहुन सक्छ । यो भन्दा उच्चाईमा भएका कारण चिसो धेरै होला । साहास र हौसला दिने साथिहरु त्यहाँ नपुग्न सक्छन् । एक्लोपनले सताउन सक्छ । उफ् जिन्दगीका यी अन्तिम रातहरु पनि कति लामा र पट्यार लाग्दा भएका ।
मनमा कुरा मडारी रहेका थिए । सुमधुर आवाजमा नारायण गोपालको स्वरमा सजिएको “केही मिटा बात गर, रात त्यसै ढल्किंदै छ, भरे फेरी एकान्तमा रुनु त छदैछ ।” भन्ने गित बज्न लाग्यो ढोका तिर हेरेको प्रमिला हातमा एक टोकरी औषधी, विपि सेट र काँधमा स्टेथोस्कोप बोकेर आईन । अहो उज्यालो पो भई सकेछ । उफ् यो अन्तिम रात पनि ननिदाई विते छ ।
(सुवाश जमरकट्टेल साहितयकार तथा समाजसेवी हुन् भने सिटिजन लार्यफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर समेत हुन् ।)
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com