काठमाडौँ । आगामी मंसिर ४ गते हुने संघीय संसदको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका लागि सत्ताघटक गठवन्धनबाट नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा ‘सुवोध’ले टिकट पाउने सम्भावना बढेर गएको छ ।
विशेषगरी माओावादी केन्द्र, नेपाली काँग्रेस, समाजवादी पार्टीको संयुक्त गठवन्धन रहने सिन्धुपाल्चोक क्षेत्र नम्बर एक प्रतिनिधिसभाका लागि सुवोधको सम्भावना पछिल्लो दुई दिनमा ह्वात्तै बढेर गएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठवन्धनको शिर्ष नेताहरुको बैठकले सिन्धुपाल्चोक क्षेत्र नम्बर एक माओवादी केन्द्रलाई दिने अन्तिम सहमति जुटिइसकेको छ । माओवादी केन्द्रका प्रभावशाली एक नेताका अनुसार यस अघिको निर्वाचन जितेको, सभामुखको निर्वाचन क्षेत्र समेत भएको र स्थानीय तहको जनमत पनि माओवादी केन्द्रकै पक्षमा पल्लाभारी रहेको आधारमा माओवादी केन्द्रलाई नै क्षेत्र नम्बर एक दिने निर्विवाद सहमति जुटेको हो ।
ती नेताका अनुसार ‘उहाँलाई (नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेत) लाई व्यवस्थापन गर्ने जिम्मा म लिन्छु क्षेत्र नम्बर एक माओवादीलाई नै दिने हो’ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकलाई अघि बढाएका थिए । श्रोतका अनुसार प्रतिनिधिसभाका सभामुख कै निर्वाचन क्षेत्रमा किचलो गर्न नहुने निष्कर्षमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवा थिए । नेता बस्नेतलाई सिन्धुपाल्चोकै क्षेत्र नम्बर २ मा व्यवस्थापन गर्ने देउवाको तयारी छ ।
निर्वाचन क्षेत्र टुंगिएसंगै माओवादीभित्र को उम्मेदवार बन्ने भन्ने जिषय पेचिलो बनेको छ । तर माओवादीभित्र भइरहेको चर्चा अनुसार सभामुख अग्नी सापकोटा आफू समानुपातिकमा बस्ने र भतिजलाई अघि बढाउने तयारीमा छन् । अग्नी सापकोटाका जिल्ला तहका विश्वासीला एक नेताका अनुसार सभामुख सापकोटा पहिले चुनावमा आफैँ अघि बढ्ने तयारीमा थिए तर भतिज समेत रहेका माधव सापकोटा उम्मेदवार बन्न निक्कै तयारी गरिसकेको महसुस गरेपछि अग्नी सापकोटा पछि हट्ने तयारीमा देखिएका हुन् । उनले भने, ‘परिवारभित्रै मतभिन्नता नदेखियोस भनेर उहाँले युवालाई अघि बढाउने र आफू समानुपातिकमा बस्ने मनस्थितिमा देखिनुभएको संकेत मिलेको छ ।’
माधव सापकोटाले यस पटकको निर्वाचनमा आफैँ अघि बढ्ने भन्दै ‘सभामुख अग्नी सापकोटालाई व्यवस्थापन गर्ने जिम्मेवारी तपाईको हो’ भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक ध्यानाकर्षण गराइरहेका छन् । सुवोधले निर्वाचन लक्षित सार्वजनिक कार्यक्रममै आफू पछि नहट्ने उद्घोष गरिरहेका छन् । भेटको क्रममा प्रचण्डले आफूलाई सकरात्मक आश्वासन दिएको सुवोधले बताए । उनले प्रचण्डलाई उदृत गर्दै भने, ‘उहाँलाई तपाई सम्झाउनुस, म पनि सम्झाउँछु, एउटै अनुहार जाँदा मतदातालाई वाक्क भएकै छ ।’ प्रचण्डको यस्तो ग्रिन सिग्नल आए पछि सुवोध अहिले चुनावी माहोल बनाउँदै दौडधुप गरिरहेका छन् ।
निर्वाचन क्षेत्रमा समेत सुवोधको उम्मदवारीबारे बारे चासो ह्वात्तै बढेको छ । युवा र नयाँ अनुहार उम्मेदवारको रुपमा आए मतदाता बढि आकर्षित हुने गाउँ स्तरमा चर्चा हुने गरेको छ । नेपाली काँग्रेसबाट निर्वाचित एक जना वडाध्यक्षले भने, ‘गठवन्धन जसरी हुन्छ त्यसलाई मान्ने हो । तर गाउँमा चाहीँ नयाँ अनुहारको खोजी भइरहेको छ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com