जेठ, २७ । एक सय ८३ वटा परियोजनाले स्टार्टअप उद्यम कर्जा पाउने भएका छन् । उनीहरूलाई १९ करोड ४० लाख रुपैयाँ स्टार्टअप उद्यम कर्जा प्रवाह गरिने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले बताउनुभयो ।
सरकारले नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना/व्यवसाय विस्तार र दिगो रूपमा सञ्चालन गर्न स्टार्टअप कर्जा दिने घोषणा गरेको थियो ।
सोही अनुसार प्रतिष्ठानले गएको शुक्रबार सूचना निकाल्दै कर्जा सिफारिस गरिएका परियोजनाको सूची सार्वजनिक गरेको छ । स्टार्टअप उद्यम कर्जा प्रवाहसम्बन्धी कार्यक्रमअन्तर्गत योग्य सूचीमा परेका परियोजनाको प्रस्तुतीकरण र कर्जा मूल्यांकनबाट प्राप्त अंकभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहको सिफारिस गरिएको प्रतिष्ठानको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिष्ठानले माघ १९ देखि फागुन १० सम्म स्टार्टअप उद्यम कर्जाका लागि मागेको प्रस्तावमा १ हजार ६ सय ५८ परियोजनाले प्रस्ताव दर्ता गराएका थिए । प्रतिष्ठानले चैत २ मा सूचना निकाल्दै स्टार्टअप उद्यम कर्जाका लागि दर्ता भएको १ हजार ६ सय ५८ परियोजनाको विवरण सार्वजनिक गरेको थियो ।
दर्ता भई सात वर्ष नाघेको, नवीन प्रविधि एवं सिर्जनशील सोच प्रयोग नगरिएको र कुल चुक्ता पुँजी १० लाख रुपैयाँभन्दा बढी भएका परियोजना योग्य सूचीमा नपरेको प्रतिष्ठानले जनाएको छ ।
सूचना जारी भएको ३० दिनभित्र तोकिएको बैंक शाखा कार्यालयमा सम्पर्क नगरेको खण्डमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ । काठमाडौंकाका लागि थापाथली, ललितपुरका लागि लगनखेल र भक्तपुरका लागि राष्ट्रिय वाणिज्य बैंकको शाखा थिमिमा जानुपर्नेछ भने अन्य जिल्लाको हकमा प्रतिष्ठानले शाखा कार्यालय छिट्टै तोक्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com