साउन, २ । ललिता निवास जग्गा प्रकरणमा कर्मचारीहरूलाई अनावश्यक मुछेर मनोबल गिराउने काम गरेको भन्दै निजामती सेवा संरक्षण समूहले आपत्ति जनाएको छ । मङ्गलवार विज्ञप्ति निकालेर सो समूहले जग्गा अनियमितता प्रकरणमा कर्मचारीहरूलाई अनावश्यक रूपमा धरपकड गरि दुःख दिने र मानमर्दन गर्ने काम गरेको भन्दै आपत्ति जनाएको हो । जथाभाबी कर्मचारीमाथि भएको धरपकडले कार्यस्थलमा उपस्थित भई नियमित कार्यसम्पादन गर्न र निर्णय प्रक्रियामा सहभागिता जनाउनसमेत हतोत्साहित बनाएको, तलदेखि उपल्लो तहसम्मका आम कर्मचारीहरू आतङ्कित बन्न पुगेका र असुरक्षित महसुस गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यस्तो अवस्थामा कर्मचारीबाट कस्तो कार्यसम्पादनको अपेक्षा राख्ने हो, सोचौँ’विज्ञप्तिमा भनिएको छ ।
निजामती सेवा र निजामती कर्मचारीहरूप्रति भएको ज्यादती र अन्यायको विरुद्ध आफ्नो पेशागत मर्यादाभित्रै रहेर एकताबद्ध भई असहमति जाहेर गर्न समूहले विज्ञप्ति मार्फत आह्वान पनि गरेको छ । उपसचिव सृजना तिवारीको संयोजकत्वको संरक्षण समूहद्वारा हस्ताक्षरित विज्ञप्तिमा सहसंयोजक पशुपति पोखरेल, मनोज न्यौपाने, विवेक घिमिरे, कमल मणी खतिवडा लगायतले हस्ताक्षर गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com