पुष, ९ । नेपालसहित विश्वभरका इसाई धर्मावलम्बीहरुले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइष्टको जन्मदिन मनाउने परम्परा छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन् । क्रिसमसका अवसरमा काठमाडौंका विभिन्न स्थानमा विशेष रौनक छ ।
किन मनाइन्छ क्रिसमस ?
बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको छैन तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आआफ्नो धारणा भने राखेका छन् । एन्नो डोमिनीको काल प्रणालीको आधारमा येसु ख्रिस्टको जन्म इसापूर्व ७ देखि २ को बिचमा भएको हो भन्ने उल्लेख गरिएको छ । वासिङ्टन पोस्टको एक रेपोर्ट अनुसार येसुको जन्म २५ डिसेम्बरमा भएको हो भन्ने बाइबलमा कहीँकतै स्पष्ट रूपमा निर्देश नगरिए पनि शान्त र चिसो मौसमको कुनै दिनमा माता मरियमद्वारा बेथलेहेमा उनको जन्म भएको हो भन्ने दाबी गरिएको छ । मानव विज्ञानी जेम्स जार्ज फ्रेजरले आफ्नो पुस्तक ‘दी गोल्डेन बज’ मा २५ डिसेम्बर क्रिसमस डेको सम्बन्धमा जुन दिन येसु ख्रिस्टको जन्म भएको थियो ठिक उसै दिनमा क्रिसमसको छुट्टी मनाउने प्रचलनमा आएको उल्लेख गरेका छन् । धार्मिक मान्यताअनुसार आजभन्दा दुई हजार २२ वर्षअगाडि ईश्वरद्वारा मरियमको सपनामा के बताइएको थियो भने उनीले एक खास बच्चाको जन्म दिनेछिन् जसको नाम येसु ख्रिस्ट प्रमेश्वरको पुत्र रहनेछ । यो भविष्यवाणी २५ मार्चमा मरियमलाई मिलेको थियो र नौ महिनापछि २५ डिसेम्बरमा येसुको जन्म भयो । यो नै एक भरपर्दो र कमन इतिहास हुन सक्छ । भविष्यवाणीपछि येसुको जन्म बेथलेहेमको चरनमा भएको थियो ।
बाइबलको नयाँ नियममा बताइएअनुसार येसु ख्रिस्ट जन्मनुभन्दा एक दिन पहिले मरियमको स्वर्गदूत गाब्रिएलले दर्शन दिएर के भनेका थिए भने स्त्रीहरूमध्ये तपाईं धन्य हौ किनभने तपाईं ईश्वरीय पुत्रको माता बन्नका लागि चुनिनु भएको छ । यो सुनेर माता मरियम छक्क परेकी थिइन् । त्यसपछि मरियम र उनका लोग्ने योसेफ आफ्ना नाम दर्ता गराउन बेथलेहेम सहर गए । त्यहाँ बस्नका लागि उपयुक्त ठाउँ नमिलेपछि सहरदेखि एकान्त फलस्तिन चरन जग्गा नजिकै एक गुफामा रोकिए । त्यहीँ मरियमद्वारा येसुको जन्म भयो । जहाँ उनको जन्म भयो उही आज एक चर्च छ, जसलाई ‘चर्च आफ नेटिविटी’ भनिन्छ । यो आधुनिक इजरायलको राजधानी यरुसलेमदेखि दस किलोमिटर टाढा सेन्ट्रल वेस्ट बैङ्कमा अवस्थित छ । ख्रिस्ट प्रभुको जन्म एडी वानलाई पनि मान्ने गरिन्छ । यहीँबाट अङ्ग्रेजी क्यालेन्डरको सुरुवात भएको मानिन्छ । क्रिसमस पर्वको खास मान्यता के छ भने संसारका मानिसहरूको पापलाई क्षमा ९मुक्त० गराउन तथा रोक्नका लागि ईश्वरले आफ्नो एक मात्र पुत्र येसु ख्रिस्टलाई यस धर्तीमा पठाउनु भयो । यिनै ख्रिस्टले संसारभरीका मानिसहरूको पापलाई मुक्त गराउने उद्देश्यले प्रेम, विश्वास, शान्ति, धर्म, सत्य आदिको दिव्य उपदेश बाँड्ने क्रममा आफ्नो प्राण नै त्यागेको कुरा पवित्र धर्मशास्त्र बाइबलमा पढ्न पाइन्छ । यिनले संसारका मानिसलाई प्रेम र भाइचाराको साथ रहन सन्देश दिएका छन् । येसु एक महान् धार्मिक केन्द्रीय व्यक्ति थिए । उनले समाजलाई प्रेम र मानिसहरूलाई शिक्षा दिएका छन् । यिनलाई इसाई धर्मका संस्थापक पनि मानिन्छ । यिनै इसाई धर्मका प्रवर्तक येसु ख्रिस्टको जन्मोत्सवको सम्मानमा डेसेम्बर २५ का दिन संसारभरि क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com