ओखलढुङ्गा साउन १२ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद रामहरी खतिवडाको पहलमा ओखलढुङ्गा र सिन्धुली जिल्ला सिधा जोड्ने नवलपुरमा पक्की पुलको निर्माण सम्पन्न भएको छ । दुई जिल्ला जोड्ने सुनकोसी नदीमाथिको पक्की पुल निर्माण भएपछि स्थानीयहरु खुशी भएका छन् ।
बुधवार नेता खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुखसहित स्थानीय जनप्रतिनिधिहरुले पक्कीपुलको निरीक्षण गरेका थिए । पुलको निरिक्षण गर्दै नेता खतिवडाले पहाड–तराई जोड्ने पक्की पुल आफू सांसद हुँदा नभएकोले पूर्वाधार विकासमा पहिलो जोड दिएको बताए ।
पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने गरि तयारी गरिएको नेता खतिवडाको भनाई छ । करीव २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ भने चौडाई ११ मिटरको छ । पुलमा दुई वटा ठूला सवारी साधन सहज रुपमा पार गर्न सक्नेछन् ।
यो पुल २०७३ सालको असार अन्तिममा शुरु भएको र २०७६ सम्म नै सकिसक्नुपर्ने भए पनि कोरोना महामारीको कारण काम केही ढिला गरी सकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालले बताए । उनले पुल निर्माण गर्न कुल २४ करोड रुपैयाँ लागेको बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com