७ फागुन, काठमाडौं । नेपालमा विदेशी पर्यटक संख्या बढ्दा होटलहरूको नाफामा सुधार देखिएको छ । सेयर बजारमा सूचीकृत सबै होटलले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार होटलहरूको खुद नाफा गत वर्ष सोही अवधिको तुलनामा औसत ४८ प्रतिशत बढेको छ ।
होटल तथा पर्यटन समूहका बजारमा ६ कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालनबापत सेवा शुल्क हो । तर, अन्य चार कम्पनी सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापार भनेको होटल व्यवसाय हो । तीमध्ये सिटी होटल नोक्सानीमा छ भने अरू सबै कम्पनी नाफामा छन् ।
होटलहरूले सार्वजनिक गरेको वित्तीय विवरणमै वाह्य पर्यटक संख्या बढ्दा आम्दानीमा सकारात्मक टेवा पुग्न गई नाफामा सुधार भएको उल्लेख गरेका छन् । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा ६ कम्पनीको कुल खुद नाफा ४४ करोड ९५ लाख रुपैयाँ छ । गत आव दोस्रो त्रैमासमा यस्तो नाफा ३० करोड ३३ लाख रुपैयाँ थियो । यसर्थ, होटल तथा पर्यटन समूहका कम्पनीहरूको औसत नाफा ४८ प्रतिशत बढेको देखिन्छ । अनलाइनखबर
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com