काठमाडौं, साउन २ । न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।
सोमबारको न्यायपरिषदको बैठकले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेश कुमार निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
परिषदको सिफारिस कायम मुकायम प्रधानन्यायाधीशले कार्यान्वयन गर्नेछन् । उनीहरुमाथि कार्यक्षमताको अभाव, खराब आचरण र पद अनुरुपको आचरण गर्न नसकेको भन्ने पुष्टि भएपछि बर्खास्तको सिफारिस भएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।
शर्मामाथि सिरहा जिल्ला अदालतमा बसेर काम गर्ने क्रममा नाबालिकाको बलात्कारमा थुनछेक आदेशमा बदनियत राखेको आरोप छ । त्यस्तै, न्यायाधीश निधिमाथि नाबालिकामाथि बलात्कार मुद्दामा खराब आचरण देखाएको आरोप छ । साथै विदेशीले नेपाली नागरिकता पाएको विवादमा पनि कैफियतयुक्त फैसला गरेको आरोप उनीमाथि छ ।
परिषदले गत शुक्रबारमात्रै उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दियाका जिल्ला न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्तको सिफारिस गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com