भदौ, ५ । आफ्ना माग समेटेर निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै आनदोलनरत कर्मचारीहरुले सिंहदरबार गेट अगाडि पर्चा वितरण गरेका छन् ।
उनीहरुले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न मागसहितको पर्चा आज सिंहदरबार भित्र जाने मन्त्री, सांसद, उच्च अधिकारी तथा सेवाग्राहीहरुलाई वितरण गरेका हुन् । नासु पशुपति पोखरेलले कर्मचारी मैत्री ऐन जारी गर्नका लागि सरकारलाई दबाब दिन गेट अगाडि भेटिने सबैलाई बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म पर्चा वितरण गरिएको बताए ।
यस्तै, नेपाल नेजामती कर्मचारी संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले भोलिदेखि कालोपट्टी बाँधेर काम गर्ने, सबै सरकारी कार्यालय अगाडि कर्मचारीका माग लेखिएका कालो ब्यानर टाँग्ने कार्यक्रम तय गरिएको बताए ।
सन्जालले ११ बुँदे माग अघि सार्दै यही भदौ २ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । सोही कार्यक्रम अनुसार आज सिंहदरबारको गेट अगाडि पर्चा वितरण गरेको हो ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले संयुक्त ट्रेड युनियन सन्जालको ब्यानरमा आन्दोलनका कार्यक्रम गरेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com