कठमाडौँ । पोखरा पर्यटनको मुख्य आकर्षक हट एयर बेलुनलाई प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन वोर्डले व्यवसायीहरुसंग सहकार्य गर्ने भएको छ ।
सोमबार बेलुन नेपालका संचालक र पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ)संगको छलफलमा पर्यटन वोर्डले पोखरा पर्यटनमा हट एयर बेलुन अत्यन्त प्रभावकारी र आकर्षक देखिएको भन्दै उक्त कार्यक्रमलाई देश तथा विदेशमा प्रचार प्रसारका लागि प्राथमिकतामा राख्नेबारे छलफल भएको हो ।
पाँच वर्ष पहिलेदेखि पोखरामा निजि क्षेत्रको लगानीमा सुरु भएको हट एयर बेलुन कार्यक्रम थप प्रचार गरी पर्यटकहरुको मनोरञ्जनको लोकप्रिय माध्ययम बनाउनका लागि पर्यटन बोर्डले सक्दो पहल गर्ने बोर्डका सीइओ डा. धनञ्जय रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशविदेशमा हुने प्रचार प्रसारका कार्यक्रममा हट एयर बेलुनलाई पनि साथै राख्नेछौँ, नेपाल आउने पर्यटकलाई यो प्याकेज मन पर्ने भएकाले यसलाई राज्यले संरक्षण पनि गर्नेछ ।’ सो क्रममा बेलुन नेपालका संचालक दीपक श्रेष्ठले आगामी नोभेम्बरमा नेपालमा पहिलो पटक बेलुन महोत्सव आयोजना गर्न लागिएकाले सो कार्यक्रममा पर्यटन बोर्डसंग सहकार्यका लागि प्रस्ताव राख्नुभएको छ ।
नौ महिना पछि आयोजना हुन लागेको हट एयर बेलुन मेलामा एकैपटक झण्डै ५० वटा बेलुन उडाएर विश्वकै ध्यान आकृष्ट गर्ने तयारीमा रहेको संचालक श्रेष्ठले बताउनुभयो । त्यसका लागि विभिन्न देशहरुबाट हट एयर बेलुनका पारखी राइडरहरुलाई निम्तो दिइने भएकाले उनीहरुले लिएर आउने हट एयर बेलुनको सामग्री आयातलाई निशुल्क बनाइ सहजीकरण गराइदिन सीइओ समक्ष आग्रह गर्नुभयो ।
हट एयर बेलुनमा ग्यास र आगोको सहायतामा बेलुन फुलाई त्यसमा मानिसलाई सवार गरि आकाशमा सयर गराइने रोमान्चक यात्रा हो । यो यात्रा करिव एक घण्टाको यात्रा अवधीको रहन्छ । यो कार्यक्रम हाल पोखरामा संचालन भइरहेको छ ।
बुद्ध फाउण्डेसन बेलायतका अध्यक्ष समेत रहेका श्रेष्ठले लुम्बिनी, सगरमाथा, पोखरालगायतका पर्यटकीय स्थलहरुको महत्वका बारेमा बेलायतमा विविध कार्यक्रमहरु गरिरहेको जानकारी गराउँदै पर्यटन बोर्डसँग सहकार्यका लागि जोड दिनुभएको छ । सो क्रममा सिइओ रेग्मीले स्पष्ट योजनासहित प्रस्ताव पेश गर्न आग्रह गर्नुभएको बुद्ध फाउण्डेसन बेलायतका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले जानकारी दिनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com