काठमाडौँ । ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जनतालाई व्यापक रुपमा श्रमदानमा प्रेरित गराएका छन् । गाउँका सामान्य विकास निर्माण जनश्रमदानबाटै गर्नु पर्छ सरकारी कोषको भर पर्नु हुन्न भन्ने मान्यता सहित अध्यक्ष शेर्पा जनश्रमदानमा प्ररित बनेका हुन् ।
बर्खेझरीमा आफैँ गम्बुट लगाएर अध्यक्ष शेर्पा कहिले ढुंगा फुटाउन पुग्छन् त कहिले पहिरो हटाउन । बर्षाको बेला गम्बु शेर्पाको दैनिकि नै बेल्चा साबेल बोकेर बाटो खुलाउन हिड्ने, कतै वृक्षारोपणमा जाने बनेको छ । आफू मात्रै नभई त्यहाँका स्थानीयलाई समेत साथमा लिएर हातेमालो गरि मर्मत र विकासमा सक्रिय बनेका छन् ।
धरामा मेयर हर्क साङपाङले जनश्रमदानबाटै खानेपानीको जोह गरेको, वृक्षारोपण गरेको भिडियोहरु भाइरल हुँदा पहाडी दुर्गम गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा विना कुनै प्रचार प्रसार जनश्रमदानबाट गाउँको विकासमा लागि परेका छन् ।
केही दिन अघि मात्रै अविरल बर्षाको कारण लिखु भुसिङ्गा सडक खण्ड अन्तरगत पर्ने जिरिखर्क खोला नजिकै ठुलो ढुङ्गा खसेर सडक अबरुद्ध भएको थियो । उक्त भिमकाय ढुंगालाई अध्यक्ष शेर्पा सहित गाउँले मिलेर पन्छाएका छन् र यातायात सुचारु गराएका छन् ।
मानविय शक्तिले नसक्ने पहिरो र अवरोधहरु जेसिविमार्फत समाधान गर्ने गाउँपालिकाको लक्ष्य नै बनाइएको छ । हरेक वडामा स्थानीयलाई विकास निर्माणमा सामेल गराउने गाउँपालिका अध्यक्षको योजना छ । श्रमदानबाट गरिएका कार्यहरु भरपर्दाे र प्रेमिल हुने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको विश्वास छ । उनले भनेका छन्, ‘सुरुमा जनश्रमदानमा युवाहरु कम थिए अहिले अभिषनकै रुपमा सबै वडामा जनश्रमदान सुरु भएपछि युवाहरुको सक्रियता ह्वात्तै बढेको छ । म जनतामा विकासको हुटहुटी देखेर ज्यादै नै उत्साहित छु ।’ अध्यक्ष आफैँ बेल्चा र साबेल बोकेर हिँडेपछि श्रमदानमा स्थानीयहरु पनि स्वस्फुर्त रुपमा सामेल हुने गरेका छन् ।
साउन भदौ जस्ता बर्षातको समयमा सरकारी बजेट प्रयोग नगर्ने निति गाउँपालिकाले लिएको छ ।
बजेटको अख्तियारी पनि नहुने यस्तो समयमा जनतालाई नै साथमा लिएर विकासको काम गर्नाले समयको पनि उपयोग भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजान मगरले बताए । उनले भने, ‘अध्यक्ष आफैँ घन र ह्याम्मर बोकेर डोजर सहित फिल्डमा उत्रिएपछि स्थानीय पनि हौसिने रहेछन् । हाम्रो गाउँपालिकामा यो राम्रो थिति बसेको छ ।’ बर्षातको समयमा अघिल्लो वर्षसम्म संधै अवरोध हुने ग्रामिण सडकहरु अहिले कहीँ पनि अवरुद्ध हुन पाएको छैन । सबै वडामा पुगेका सडकहरु पूर्ण रुपमा संचालनमा छन् ।
गम्बु शेर्पाको अमेरिकी जीवन बढो सुखसयलमा थियो । छोराछोरीहरु पढाई सकेर उत्रै इलम गर्ने भइसके । शेर्पाको पनि उतै मनग्य कमाई थियो । तथापी उनी सबै सुविधाहरु छाडेर गाउँ फर्किए । उनी आफु जन्मेको थलो विकासमा संधै पछि परेको देखेर विकासको गोरेटो आफैँ कोर्ने लक्ष्यमा होमिएका छन् । स्थानीय तहको काम कर्तव्य र अधिकार बृहत देखे पछि स्थानीय तहमै सक्रिय हुनु पर्छ भन्ने निष्कर्ष सहित गम्बु् शेर्पाले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यो पनि जनता समाजवादी पार्टीबाट । नेपाली काँग्रेस र नेकपा एमाले जस्ता ठूला दलको दवदवा रहेको खिजिदेम्बामा जसपाको सक्रिय कार्यकर्ता भेट्न समेत मुस्कील थियो । पहाडी भूगोल कमजोर धरातल रहेको जसपाबाट टिकट लिएर सबै दललाई पराजित गरी शेर्पा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उ बेला जनताले पनि ‘उनीसंग मनग्य पैसा छ, घुस खादैन, सरकारको बजेट विकासमै सदुपयोग हुन्छ’ भन्ने अभिलासा राखेर भोट दिएका थिए । नभन्दै गम्बुले सरकारी बजेट दुरुपयोग घटाउन जनश्रमदानलाई प्राथमिकता दिएका छन् । उनले सरकारी कोषलाई स्थानीय कृषकहरुको व्यवसायिक क्षमता अभिवृद्धि, तालिम, सिप विकास र अन्य पूर्वाधारहरुको विकासमा खर्च गर्न जोड गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com