फागुन, ६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा मौलिकता हराउँदै गएको टिप्पणी गर्नुभएको छ । बिपी अध्ययन प्रतिष्ठान केन्द्रीय समितिले काठमाडौँको बत्तिस पुतलीमा आयोजना गरेको चियापान समारोहमा कोइरालाले महासमिति बैठकले कांग्रेसको मौलिकता जोगाउनुपर्ने बताउनुभयो । नेता कोइरालाले महासमिति बैठकमा पेश हुने प्रस्ताव मौलिकतामा आधारित हुनुपर्ने औँल्याउँदै परिमार्जन हुनुपर्ने बताउनुभएको छ ।
कोइरालाले भने, ‘पहिलेका महासमिति र यस पटक केही अन्तर हामीले पाएका छौँ । मलाई के लागेको छ भने—कतै कांग्रेसले मौलिकता त गुमाएको होइन ? यसमा मलाई चिन्ता लागेको छ ।’ नेता कोइरालाले महासमिति बैठकमा छलफलका लागि पेश गरिने प्रस्तावहरूमा गठबन्धनको छाया देखिएको पनि बताउनुभएको छ । ‘गठबन्धनको छायाले ग्रसित भएका हौँ कि भन्ने विषयले आफुलाई चिन्तीत बनाएको नेता कोइरालाको भनाई छ । कोइरालाले देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणालीबिच तादाम्यता कायम हुन नसकेको भन्दै निर्वाचन प्रणाली बदल्नुपर्नेमा जोड दिनुभयो ।
चियापान समारोहमा सहमहामन्त्री भीष्म आङ्दम्बे, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, डा चन्द्र भण्डारी, मञ्जुु खाँण, रुपा विक, सरिता प्रसाईं, रुक्मणी कोइराला, दिनेश कोइराला, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस नेताहरू गुरु घिमिरे, रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, देवराज चालिसे, बिनोद खनाल, मेदनी सिटौला, प्रतिष्ठानका अध्यक्ष धर्मेन्द्रबिक्रम नेम्वाङ लगायत नेताहरुको उपस्थिती रहेको थियो ।
प्रजातन्त्र दिवसको अवसर पारेर भोलिबाट कांग्रेसको महासमिति बैठक सुरु हुँदै छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, साङ्गठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् ।
महासमितिमा १ सय ६५ केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, १ हजार ७ सय ८० महासमिति सदस्यहरू जना सहभागी हुने छन् । यस्तै नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमितिमा सहभागी हुने जनाईएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com