काठमाण्डौ, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशनको उद्घाटन गरेका छन् ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको महाधिवेशन उद्घाटन समारोहलाई देउवाले जम्मा जम्मी ५ मिनेट मात्रै सम्बोधन गरे । हेलिकोप्टरबाट अन्य नेताहरुसहित हेटौँडा पुगेका उनले सम्बोधनका क्रममा कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनसम्बद्ध पत्रकारहरुलाई जिम्मेवार र उत्तरदायी हुन सुझाव दिए । सम्बोधनका क्रममा देउवाले पत्रकारिता क्षेत्रले देश र जनताका लागि अझै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
युनियनको अध्यक्षका लागि अनिता बिन्दु र शिव लम्सालबीच प्रतिष्पर्धा हुने भएको छ । संस्थापन पक्षले अनितालाई अध्यक्षको टिकट दिएको हो भने इतरबाट शिव लम्साल अध्यक्षमा उठ्ने पक्का भएको छ । संस्थापन पक्षबाट अध्यक्षको टिकट पाएकी बिन्दु नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष समेत हुन् । अहिले उनी नेपाल टेलिभिजनमा कार्यरत छिन् ।
युनियनका कोषध्यक्ष सरोज अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा अघि सारेको छ भने काठमाडौँ जिल्ला अध्यक्ष जगन्नाथ दुलाललाई महासचिवमा र केन्द्रीय सदस्य माधव धिताललाई कोषाध्यक्षमा उठाएको छ । यस्तै, संस्थापन समूहले उपमहासचिवमा केशव सावद र सचिवमा खगेन्द्र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै महिला सचिवमा संस्थापनबाट मेनुका ढुंगाना प्रतिस्पर्धामा छिन् ।
इतर समूहबाट प्रेम केसी वरिष्ठ उपाध्यक्षमा उठेका छन् । खुल्ला उपाध्यक्षमा नकुल अर्याल, भीष्मराज ओझा र शेखर रेग्मी प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवमा इतर समूहबाट दिलिप पौडेल उठेका छन् ।
महाधिवेशनमा देशभरका करिब १ हजार ६ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरु सहभागी हुँदैछन् । युनियनको महाधिवेशनका लागि सबै प्रतिनिधि हेटौँडा पुग्ने क्रम जारी छ । आवासका लागि हेटौँडा, मकवानपुरगढी, अम्लेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com