काठमाण्डौ, साउन १९ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा आफुहरुले राखेका माग पुरा गर्न सिसडोलबासीले गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराएका छन् । विभिन्न माग राख्दै पटक पटक फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका त्यहाँका स्थानीयहरुले माग पूरा गरिदिन आज गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएका हुन् ।
१८ वर्षदेखि फोहोरबाट पिडित बनेका सिसडोल र बन्चरेडाँडाका स्थानीयहरुले माग पूरा नभए फोहोर व्यवस्थापनमा पूर्ण रुपमा रोक लगाउने चेतावनी दिएका छन् । उनीहरुले आगामी भदौ १ गतेदेखि काठमाण्डौ उपत्यकाको फोहोर सिसडोल र बन्चरेडाँडामा फाल्न नदिने बताएका हुन् ।
स्थानीय एवं समाजसेवी राजन न्यौपानेले स्थानीयको मागलाई वेवास्ता गरि महागरले लापरवाही गरेकाले अब पूर्ण रुपमा फोहोर व्यवस्थापनमा रोक लगाउने निर्णयमा पुगेको बताए । उनले भने, आज हामीले गृहमन्त्री खाँड, शहरी विकास मन्त्रालय र काठमाण्डौ महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छौँ, ‘अब पनि हाम्रा माग पूरा नभए फोहोर व्यवस्थापनमा पूर्ण रोक लगाउनुको विकल्प छैन ।’
विगत १८ वर्षदेखि त्यस क्षेत्रमा फालिएको फोहोरका कारण मानव स्वास्थ्यमा ठूलो असर गरेकाले त्यसको उचित व्यवस्थापनका लागि स्थानीयहरुले विभिन्न माग राख्दै आएका छन् । उनीहरुका माग पूरा नभएको भन्दै त्यहाँका स्थानीयले पटक पटक फोहोर लैजान रोक लगाउँदै आएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com