भदौ, ६ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीले सक्रियता बढाएको छ । अघिल्लो समिति खारेज भएपछि पुर्नगठन भएको समितिले भूमिसम्बन्धि समस्या समाधान गर्न जिल्लामा तिब्रता बढाएको हो । अध्यक्ष रामकुमार पौडेल, सदस्य अर्जुन पौडेल, इन्दिरा निरौला, सुरज सेंताङ्गसहित पुर्नगठित समितिले विगतका आयोग, समिति र कार्यदलका बाँकी काम तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । समिति जिल्लाका भूमिहीन दलित, सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबास गरेकालाई व्यवस्थापन गर्ने प्रयोजनको लागि बनेको हो । सोहीअनुसार अहिले काम भइरहेको समितिले जनाइएको छ ।
समिति अध्यक्ष पौडेलले अहिलेसम्म दुधौली नगरपालिका भित्रका १०६ घरधुरी भूमिहीन दलित, सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरेको बताए । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकामा एक दिने जग्गा नाप जाँच तथा ऐन कानूनको विषयमा प्रशिक्षण कार्यक्रम समेत गरिएको सदस्य इन्दिरा निरौलाले बताइन ।
त्यस्तै, कमलामाई नगरपालिका–३ चपौलीका २६ घरधुरी र हरिहरपुरगढी गाउँपालिका–७ र ८ मा १ हजार २ सय ६७ घरधुरीलाई निस्का (प्रमाण) वितरण गरिएको उनले बताइन । उनका अनुसार दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिका, घ्याङलेख र गोलञ्जोर गाउँपालिकासँग प्रारम्भिक सम्झौता गरिएको छ । अघिल्लो समितिले कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिकामा मात्र प्रारम्भिक सम्झौता गरेको थियो ।
हालसम्म जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका ३४ हजार ५ सय १३ निवेदन संकलन भएका छन् । त्यसमध्ये भूमिहीन दलित ८ सय ८६, भूमिहीन सुकुम्बासी १ हजार ६ सय ३१ परिवार र अव्यवस्थित बसोबास गरेका ३१ हजार ९ सय ९६ छन् । लगत संकलनका क्रममा दुधौली नगरपालिकामा सबैभन्दा बढी र घ्याङलेख गाउँपालिकामा सबैभन्दा कम आवेदन परेकोे छ । उक्त नगरपालिकामा ४ सय ६९ भूमिहीन दलित, ३ सय ९९ भूमिहीन सुकुम्बासी र १० हजार ९ सय ६६ अव्यवस्थित बसोबास गरेका छन् । त्यसैगरी, गाउँपालिकामा भूमिहीन दलित २, भूमिहीन सुकुम्बासी २३ र ४ सय ५० अव्यवस्थित बसोबास गरेकाको निवेदन संकलन भएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com