भदौ, ६ । सोलुखुम्बु जिल्लाकै सुविधासम्पन्न सोलु सामुदायिक अस्पतालको भवन उद्घाटन गरिएको छ । सेवा प्रवाहका लागि भवनको संरचना बनेसँगै आइतबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले भवन उद्घाटन गरे । जिल्लाकै सुविधासम्पन्न अस्पताल बनाएर नागरिकलाई सेवा दिने उद्धेश्यले सोलुदुधकुण्ड नगरपालिकाको बौद्धमा अस्पताल निर्माण गरिएको छ । मुनाफा वितरण नगर्ने गरि खोलिएको अस्पतालले सिटिस्क्यान, सर्जरी, एक्सरे, अल्ट्रासाउनलगायतका सेवा प्रदान गर्ने अस्पताल प्रमुख डा.राजेन्द्र बस्नेतले बताए ।
उनले भने, ‘जिल्लामा विगत ७ वर्ष सेवा गर्दा देखेको सपना पुरा भएको छ, अब शल्यक्रियासहितका सेवा अस्पतालबाट दिनेछौँ ।’ डा. बस्नेतका अनुसार अबको पाँच वर्षभित्रमा सिटी स्क्यानसहित १०० शैयाको बनाउने लक्ष्य रहेको छ ।
साढे ३ करोडको लगानीमा १५ शैयाको अस्पताल बनेको छ । त्यसैबाट नागरिकलाई सेवा दिइने र एक वर्षभित्र त्यसलाई बढाएर ३० शैयाको अस्पताल बनाउने योजना रहेको कार्यकारी प्रमुख क्षितिज नकर्मीले बताए ।
पाँचवर्षमा अस्पताल संरचना निर्माणको काम सक्नेगरि १५ करोड बजेट छुट्याइएको छ । नगरपालिकाको नाजिङमा मेडिकल कलेज सञ्चालनका लागि १२ रोपनी जग्गा समेत लिइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com