भदौ, २४ । महारानी एलिजाबेथ द्वितीय गोर्खालीकै सुरक्षा घेरामा बेलायतको राजदरबारमा हुर्के/बढेकी हुन् । दुई पटक नेपाल आएकी उनी नेपालीलाई माया गर्ने बेलायती महारानीका रूपमा चिनिन्छिन् । सात दशक सत्ता सम्हालिसकेकी उनले नेपालसहित विश्वका १ सय १७ मुलुक घुमिसकेकी छन् ।
नेपालमा समेत लोकप्रिय रहेकी उनले दुई पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन् । परराष्ट्र मन्त्रालयका अनुसार एलिजाबेथ द्वितीय र राजकुमार प्रिन्सले सन् १९६१ र १९८६ मा नेपालको दुई पटक भ्रमण गरेका हुन् । दोस्रो विश्वयुद्धपछि अमेरिकाले नेतृत्व गरेको पश्चिमा र तत्कालीन सोभियत युनियनबीच शीतयुद्धको समय चलिरहँदा एलिजाबेथ–दम्पती नेपाल आएको थियो । सन् १९६१ मा पहिलो पटक आउँदा उनीहरूलाई काठमाडौंको त्रिभुवन विमानस्थलमा तत्कालीन राजा महेन्द्र र रानी रत्नले स्वागत गरेका थिए ।
गत जेठमा बेलायतस्थित नेपाली र ब्रिटिस गोर्खा समुदायले पनि रानीको हीरक महोत्सव विभिन्न कार्यक्रम गरी मनाएको थियो भने नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सैनिक परेड, ‘थ्यांक्स गिभिङ’ र रिसेप्सन समारोहमा सहभागिता जनाएका थिए । उक्त अवसरमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि महारानीलाई बधाई सन्देश पठाएकी थिइन् ।
बेलायतको इतिहास बोकेकी महारानी एलिजाबेथले पछिल्लो पटक गत चैत तेस्रो साता नेपाली राजदूत आचार्यसँग संवाद गरेकी हुन् । राजदूत आचार्यले बकिङ्घम प्यालेसमा आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा भिडियो लिंकमार्फत विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै जोडिएकी महारानीले आफ्नो ऐतिहासिक नेपाल भ्रमण सम्झेकी थिइन् । करिब १० मिनेटको उक्त संवादका अवसरमा बेलायत–नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशासमेत व्यक्त गरेकी थिइन् । महारानीले बेलायत र नेपालबीच सदियौं लामो मैत्रीपूर्ण तथा आत्मीय सम्बन्धको पनि चर्चा गरेको राजदूत आचार्यले जानकारी दिएका थिए । त्यस अवसरमा आचार्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट महारानी र बेलायती जनतालाई पठाएको शुभकामना सन्देश सुनाएका थिए ।
सन् १९९१ मा करिब एक वर्षसम्म बकिङ्घम दरबारमा सुरक्षामा खटिएका भूतपूर्व ब्रिटिस गोर्खा सैनिक मेजर सुर्जाबहादुर थापा एलिजाबेथ द्वितीयलाई नेपाल र नेपालीलाई माया गर्ने महारानी मान्छन् । उनले दरबारमा हुने हरेक कार्यक्रममा महारानीको सुरक्षामा आफू खटिएको कान्तिपुरलाई बताए । पुरानो घर स्याङ्जा भएका र हाल काठमाडौंमा बस्ने थापाले बेलायती सेनामा सन् १९६५ देखि १९९५ सम्म काम गरेका थिए । उनले महारानी सामान्य व्यक्ति जस्तै गरी आफूहरूसँग पनि बोल्ने गरेको बताए । ‘हाम्रो ड्युटी हुँदा महारानीलाई कार्यक्रम हुने हलमा जाने र ल्याउने व्यवस्था थियो, महारानीले नेपालका बारेमा बोल्नुभएन तर उहाँलाई म नेपालको भन्ने थाहा थियो,’ उनले त्यस बेलाको घटना सम्झिए, ‘कार्यक्रम सकेपछि तपाईंहरू कहाँ जानुहुन्छ भनेर सोध्नुहुन्थ्यो । त्यसबाहेक हाम्रो संवाद हुँदैन थियो । कार्यक्रमअघि सुरुवातमा महारानीलाई भेट्दा उहाँले तपाईंहरू आइदिनुभयो, धन्यवाद भन्नुहुन्थ्यो । कार्यक्रम सकिएपछि छोड्ने बेलामा पनि धन्यवाद भन्नुहुन्थ्यो ।’ उनले आफूलाई ‘मेम्बर अफ भिक्टोरियन अडर क्यास–४’ सम्मान गरेको थापाले बताए ।
नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भएलगत्तै दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक बेलायत नै हो । त्यसपछि नेपालीहरू ब्रिटिस गोर्खामा भर्ती हुन थालेका हुन् । सन् १९४७ मा बेलायतीहरू भारतलाई स्वतन्त्र छाडेर फर्किने बेलामा तीन मुलुकबीच ब्रिटिस गोर्खामा नेपालीलाई भर्ती लिने त्रिपक्षीय सन्धि भएको थियो । त्यही सन्धिका आधारमा नेपाली अहिले पनि ब्रिटिस गोर्खा र भारतीय गोर्खामा भर्ना भइरहेका छन् । सन् १८१६ देखि नै बेलायतीको सुरक्षामा नेपाली गोर्खाले सहयोग गर्दै आइरहेका छन् । महारानी एलिजाबेथको सुरक्षा जिम्मेवारी पनि नेपालीकै हातमा रहँदै आएको छ । त्यसैले उनी सधैं नेपालीकै सुरक्षाको साथमा छिन् ।
साभार : कान्तिपुर
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com