असोज १ । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका ६ मुक्लीमा सुविधा सम्पन्न ५० शैयाको दूधकोशी सामुदायिक अस्पताल बनेको छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाउँपालिकाले श्रीमद् भागवत महायज्ञलगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिहरुबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न अस्पताल बनाएको हो ।
नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्धेश्यले निर्माण गरिएको अस्पतालको असोज ३ गते उद्घाटन गरि सेवा सुरु गरिने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । अध्यक्ष राईले भने, ‘अब गुणस्तरीय स्वास्थ्य सेवा लिन सोलुखुम्बुका नागरिक राजधानी धाउनुपर्ने बाध्यता बन्ने छैन, र अस्पतालबाट प्रसुतीलगायतका सेवा पनि प्रवाह गरिनेछ ।’
सोही अस्पतालको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । उद्घाटन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश नं १ सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङबो, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हेम कुमार राई ‘शुरवीर’को सहभागिता रहनेछ । थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय र पालिकाको प्रशासनिक भवनसमेत त्यही दिन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
१० करोड १० लाख रुपैयामा रौता कुवर जेभी निर्माण कम्पनीले सोही अस्पतालको निर्माण गरेको हो । अघिल्लो चुनावमा गाउँपालिका अध्यक्षमा चुनिएका राई आमनागरिकको जनभावनाअनुसार काम गरेकै कारण यो पटकको चुनावमा पनि उनी नै अध्यक्षमा निर्वाचित भएका हुन् । माओवादी केन्द्रको सोलुखुम्बु अध्यक्ष समेत रहेका राई पछिल्लो समय लोकप्रिय नेता बन्दै गएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com