असोज, २२ । आगामी मंसिर ४ को निर्वाचन पश्चात गठन हुने प्रतिनिधिसभाले मन्त्रीमण्डल मात्रै फेरिँदै छैन, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुख जस्तो सर्वोच्च पदहरुमा पनि नयाँ अनुहार आउनेछ । त्यस कारण पनि दलहरुबीच आगामी निर्वाचनमा भ्याएसम्मको बल लगाएर बढि भन्दा बढि सिट जित्ने दाउमा भगिरथ प्रयत्न गरिरहेका छन् ।
नयाँ प्रतिनिधिसभा गठनसंगै हालका राष्ट्रपति, उपराष्ट्रपति र सभामुख, उपसभामुखका पदहरु खाली हुनेछन् । र नयाँ व्यक्तिहरु सम्मानित पदमा पुग्नेछन् । ती भाग्यशाली अनुहारहरु को–कोे हुन सक्छन् भनेर चर्चा सुरु भएको छ । राष्ट्रपतिको आकांक्षा पाल्नेहरुमा यस अघि नै मरिहत्ते गरेका समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल हुन् । कहिले काहीँ काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि चर्चा हुने गरेको थियो । तर अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई तेस्रो राष्ट्रपति बन्ने दौडमा रहेको चर्चा सुरु भएको छ ।
नेकपा माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी गठन गरि राजनीति सुरु गरेका डा. भट्टराई संघीय समाजवादी, जसपा हुँदै एक्लीएर नेसपामा आइपुगेका छन् । उनी गोर्खा–२ बाट माओवादी केन्द्रकै चुनाव चिन्ह हसिया हथौडाबाट चुनाव लडेर सांसद् हुने चर्चा भइरहेको थियो । तर सबैको अनुमान र विश्लेषणलाई चक्मा खुवाउँदै आगामी निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् । र उनको निर्वाचन क्षेत्रबाट टकरावपूर्ण सम्वन्धमा रहेका पुराना दोस्ती प्रचण्ड चुनाव लड्ने निश्चीत बनेको छ । प्रचण्ड आफ्नो चितवन क्षेत्र नम्बर ३ छाडेर गोर्खा जानु, त्यो निर्वाचन क्षेत्र बाबुराम भट्टराइले त्याग्नुलाई राजनीतिक वृत्तमा बढो चासोपूर्ण अवस्था छ ।
२०७२ सालमा भट्टराईले नेकपा माओवादी केन्द्र छाड्दै गर्दा प्रचण्डलाई तिखो बाणाी प्रयोग नगरेपनि प्रचण्डसंग संगै बस्न नसक्ने निचोड व्यक्त गरेका थिए । तर प्रचण्डले बाबुराम भट्टराईलाई बैगुनी भन्दै आलोचना गर्ने गरेका थिए । अहिले एकाएक उनीहरु एक देखिनु, स्वयम बाबुरामले प्रचण्डलाई आगामी निर्वाचनमा जिताउन हदैसम्मको सहयोग गर्न तयार देखिनुले उनीहरुबीच एक गम्भीर समझदारी छ भन्ने लख काट्न सकिन्छ । माओावादी केन्द्रकै एक नेताले भने, ‘राजनीतिमा लामो दुष्मनी कोही संग हुन्न, अझ उहाँहरु दुई जनाको युद्धकालिन मोर्चाबाट आएको सम्वन्ध हामीले सोँचे भन्दा माथि छ । हुन सक्छ माओावादी केन्द्रको नेतृत्व गर्न नपाए पनि बाबुरामजीले यो राष्ट्रकै नेतृत्व गर्न पाउनेछन् ।’
श्रोतका अनुसार पनि आगामी तेस्रो राष्ट्रपतिका लागि प्रचण्डले बाबुराम भट्टराईलाई ग्रिन सिग्नल दिएका छन् । राष्ट्रपतिमा एक पटक काँग्रेसले प्रथम राष्ट्रपति डा। रामबरण यादव, दोस्रो पटक एमालेले विद्यादेवी भण्डारी पाइसकेकाले अब पालो माओवादीकै हो भन्ने प्रचण्डको निकर्ष छ । उनले भट्टराईलाई ‘त्यसकारण अब तपाई राष्ट्रपति बन्नुहोस, तपाईको त्याग संघर्षले त्यो उच्च ओहोदा खोजिरहेको छ ।
राष्ट्रपतिको ओझ बोक्नसक्ने माओवादीभित्र अरु नेता छैनन् तपाई नै हो’ भन्दै आश्वासन दिएका छन् । प्रचण्डको यही आश्वासनका कारण बाबुराम भट्टराई बरु चुनाव नलड्ने यस पटक प्रचण्डलाई नै सहयोग गर्ने मनस्थितिमा देखिएका हुन् । त्यसो त प्रचण्ड र बाबुराम भट्टराईको तिक्ततापूर्ण सम्वन्धमा पुन मित्रतामा झाँगीएको देखिन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com