असोज, २६ । मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका डा. सुनिल शर्मा र नेकपा एमालेको भानुभक्त ढकाल स्वभाविक उम्मेदवार हुन् ।
२०७४ मा प्रतिस्पर्धा गरेका उनीहरुले यसपटक चुनाव घोषणा नहुँदै निर्वाचन क्षेत्र केन्द्रित गतिविधि बढाएका थिए । यो क्षेत्रमा कांग्रेस र एमाले हाराहारीका शक्ति हुन् भने उम्मेदवारद्वय शर्मा र ढकालले मतदाता रिझाउन स्थानीय स्तरमा सुनाउने एजेण्डामा पनि ठूलो अन्तर छैन ।
यो प्रतिस्पर्धामा राप्रपा नेता एवं अभिनेत्री रेखा थापाको प्रवेशले रौनकता थपिएको छ । मोरङ–३ मै पर्ने सुन्दरहरैंचा नगरपालिकाको सलकपुर घर भएकी थापा भदौ दोस्रो सातादेखि नै निर्वाचन क्षेत्रमा खटिएकी हुन् । यो क्षेत्रमा राप्रपाको संगठन त छ, तर जनाधार बलियो छैन । त्यसमाथि एमाले र राप्रपा नेतृत्वबीच तालमेलका लागि छलफल भएकाले रेखाले यही क्षेत्रमा उम्मेदवारी दिनेमा धेरैले आशंका गरेका थिए ।
किनकी एमालेका उम्मेदवार ढकाल थिए । उनलाई रोकेर एमालेले रेखालाई समर्थन गर्ने सम्भावना कम थियो । बरु रेखालाई मोरङकै अर्को क्षेत्रमा लैजान सक्ने नेताहरु बताउँथे । तर रेखा निरन्तर यसै क्षेत्रमा मतदाता भेटघाटमा व्यस्त रहिन् । मोरङमा एमालेसँग तालमेल पनि भएन र रेखाले मोरङ–३ बाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिइन् ।
चुनावी माहौलमा देखिएको दृश्यका कारण राप्रपाका नेताहरु मोरङ–३ लाई जित्ने सम्भावना भएको क्षेत्र भन्न थालेका छन् ।
हुन पनि चुनावी अभियानमा रेखाले माहौल बनाएकी छन् । पार्टीका युवालाई लिएर टोलटोलमा जाने उनी महिला, किशोरीलाई भेट्छिन्, उनीहरुका गुनासो धैर्यपूर्वक सुन्छिन् । स्थापित अभिनेत्री उम्मेदवार बनेर आउँदा उनलाई सुन्ने, भेटेर तस्वीर खिच्ने र आफ्नो भावना खुलेर राख्नेहरु पनि प्रशस्तै भेटिन्छन् ।
यस्ता भेटहरुमा रेखाले आफूलाई नेताका रुपमा होइन, छोरी, दिदीबहिनीका रुपमा प्रस्तुत गर्छिन् । यो पटक आफूलाई जिताए भोलिभोलि अरु छोरीहरुले पनि चुनाव लड्ने साहस बटुल्ने बताउँछिन् । अरु उम्मेदवार जस्तो जितेर गएपछि हराउने होइन, मतदातामाझ आइरहने वाचा गर्छिन् ।
राप्रपा उम्मेदवार रेखा थापा चुनावी अभियानमा जनताले साथ दिइरहेको बताउँछिन् ।
मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र एमालेले पनि रेखालाई ‘नोटिस’मा राख्न थालेका छन् । उनले चुनाव जित्ने वा नजित्ने अनुमान गर्न हतार हुन्छ, तर उनले पाउने मत चाहिँ हारजितमा निर्णायक हुन सक्ने एमालेका एक नेताले बताए ।
२०७४ को निर्वाचन परिणाम र स्थानीय निर्वाचन २०७९ को मतले पनि त्यही देखाउँछ । वाम गठबन्धनको साझा उम्मेदवार बनेका एमाले नेता भानुभक्त ढकाल ४२ हजार ४१३ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत पाएका थिए । अरु ११ उम्मेदवारले १५०० मत कटाएनन् । onlinekhabar
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com