असोज, २८ । टनेल बोरिङ मेसिनले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग खन्ने काम सुरु भएको छ । टीबीएम मेसिन राख्ने प्लेटफर्म निर्माण भई शुक्रबारबाट धमाधम निर्माण काम सुरु भएको हो । २ वर्षभित्र सुरुङ निर्माण सक्ने योजनाका साथ सुरुङ खन्न थालिएको आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिनका आयोजना प्रमुख मित्र बरालले टीबीएम मेसिन राख्ने प्लेटफर्म निर्माण गरी काम सुरु भएको जानकारी दिए ।
टीबीएम मेसिनको लागि आवश्यक पर्ने उपकरण चीनबाट आयात भई सुरुङ मार्गअनुसारको टीबीएम मेसिनको डिजाइन भएको थियो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनाको समग्र प्रगतिको अवस्था र सुरुङ खन्नको लागि टीबीएमको सुरुङ खन्ने कार्यको अनुगमन तथा निरीक्षण समेत गरिन् ।
मन्त्री पम्फा भुसालले आयोजना निर्धारित समयमा नै बन्नेमा आफू विश्वस्त रहेको बताउँदै प्राविधिक रुपमा पनि एकदमै ठूलो ‘रिभोल्युसन’ भएको बताइन् ।
अघिल्लो आर्थिक वर्ष २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
आयोजना सुरु आर्थिक वर्ष २०७३÷०७४ मा भए पनि गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा शिलान्यास गरेका थिए । आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ ।
आयोजनाको हालसम्म ९ प्रतिशत प्रगति भइसकेको छ । आयोजनाले पूर्वतयारीको काम भएकाले भौतिक प्रगति कम देखिए पनि सुरुङ मार्ग निर्माण सुरु भएसँगै प्रगति ह्वात्तै बढ्ने दाबी गरेको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको जिम्मा पाएको चाइना ओभरसिजले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना लक्ष्यभन्दा एक वर्षअगाडि नै पूरा गरेको थियो ।
निर्माण कम्पनीले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ बनाएको थियो । नेपालखबर
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com