कार्तिक, २५ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दसी गाउँपालिकाबासीले घर आँगनमा आएका गठबन्धनका साझा उम्मेदवारहरुलाई फूल मालाले अभिनन्दन गरेका छन् ।
चुनावी प्रचारका लागि घरदैलो, भेटघाट र कोणसभामा सहभागी हुन त्रिपुरासुन्दरीको टेकानपुर, गैरी गाउँ, तौथली, जलजले, पिस्कर पुगेका साझा उम्मेदवारहरु माधव सापकोटा सुबोध, मसिना खड्का भण्डारी र समानुपातिक उम्मेदवारहरु अमृता नेपाल प्रभा, भोजराज श्रेष्ठलगायतलाई स्थानीयले गला भरी माला लगाइदिएर अभिनन्दन गरेका हुन् ।
स्थानीयले उम्मेदवारहरुलाई सत्कार र सम्मान गर्दै जितका लागि शुभकामना दिए । ऐतिहासिक सुन्दर बस्ती तौथली, जलजले र चर्चीत पिस्करका बासिन्दाले आफूले मत दिने तयारी गरेका उम्मेदवार आफ्नो भूगोलमा आएपछि विहिबार भव्य स्वागत गरेका हुन् । जनताको न्यानो मायाँ र सत्कार पाएका उम्मेदवारहरुलाई शुक्रबार त्यसैगरि धुस्कुन, पात्लेबासीले स्वागत र सत्कार गरे ।
जितका लागि आशीर्वाद दिए । युवा, महिलादेखि पाको उमेर समुहका स्थानीयले गरेको फूलै फूलको अभिनन्दनका तस्बिरहरु सामाजिक सञ्जालमा क्षणभरमा सार्वजनिक भएका छन् । यसले सिन्धुपाल्चोक १ को चुनावी माहोलको यर्थाथ सार्वजनिक भएको छ । फूल मालाको अभिनन्दनसँगै स्थानीयले भौतिक पूर्वाधार, खासगरि सडक मार्गलाई व्यवस्थित बनाउने विषयलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । पहाडी बाटोमा बर्षातको समयमा सवारी साधन चल्न कठिन छ । शिक्षा, स्वास्थ्य र रोजगारीका विषय ध्यान दिन र आफूहरुलाई नविर्सन स्थानीयको आग्रह हुने गरेको छ ।
प्रतिनिधि सभाका लागि क्षेत्र नं १ का साझा उम्मेदवार माधव सापकोटा सुबोधले जलजलेमा भएको कोण सभामा स्थानीयको कुरा सुनेपछि संघीय सांसदको मुख्य भूमिका नीति निर्माण भएपनि तीनवटै तहका सरकारहरुबीचको समन्वयमा भौतिक एवं पूर्वाधार विकासका लागि आफूले विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । राजनीतिमा लाग्दा पिस्कर र पिस्कर आन्दोलनबाट प्रभावित भएको बताएका युवा नेता सुबोधले पिस्करमा थामी संग्रहालय निर्माणका लागि आफूले विगतमा गरेको पहलबारे स्मरण गराए । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सो क्षेत्रमा अझ धेरै काम गर्न सकिने उनको भनाइलाई स्थानीले तालि बजाएर अनुमोदन गरे ।
प्रतिनिधि सभा क्षेत्र नं १ का साझा उम्मेदवार सुबोध, क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्का, समानुपातिकतर्फ माओवादीका प्रदेश सभा उम्मेदवार अमृता नेपाल, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार भोजराज श्रेष्ठलगायतलाई स्थानीयले शुक्रबार चोकटी क्षेत्रमा पनि पहेंलो सयपत्री मालाले गला भरेर भव्य स्वागत र सत्कार गरे ।
क्षेत्र नं १ को प्रदेश २ को पत्यक्षतर्फको साझा उम्मेदवार सरल सहयात्रीले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं २ र ३ मा मतदाता भेटघाट गरे । सययात्रीलाई पनि स्थानीयले उत्तिकै स्नेहका साथ स्वागत एवं अभिनन्दन गरे । क्षेत्र नं १ मा प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले अघि रहेको लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरु फराकिलो मतान्तरसहितको जित निकाल्न आन्तरिक एकतालाई थप बलियो बनाउँदै गाँउ बस्तिमा पुगेर मतदाता भेटघाट गरिरहेका छन् ।
यसैबिच मतदाताको घर आँगनमा पुगेका सिन्धुपाल्चोक क्षेत्र नं २ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई पनि स्थानीयले उसैगरि फूल मालाले अभिनन्दन गरेका छन् । क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ मोहन बहादुर बस्नेत गठबन्धनका साझा उम्मेदवार छन् । प्रदेश सभातर्फ १ मा युवराज दुलाल सरद र २ मा कृष्ण कुमार तामाङ समिर उम्मेदवार छन् । दुबै क्षेत्रका उम्मेदवारहरुले जनताबाट पाएको अपार मायाँले आफूहरुलाई थप उत्साहित बनाएको बताउँदै यो मायाँ र सम्मानलाई नभूल्ने प्रतिवद्धता जनाएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com