मंसिर, ८ । नयाँ संविधान जारीपछि भएको दोस्रो संसदीय निर्वाचनको मतगणना भइरहेको छ । मतगणना सम्पन्न भएपछि संघीय संसद र प्रदेशसभामा कुन दलको कस्तो हैसियत रहने भन्ने प्रस्ट हुनेछ । निर्वाचन आयोगले यही मङ्सिर २० गतेसम्म सम्पूर्ण मतगणना सम्पन्न गरेर त्यसको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउने यसअघि नै बताइसकेको छ ।
नेपालको हालको निर्वाचन प्रणाली मिश्रित निर्वाचन प्रणाली हो । यस अनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र समानुपातिकबाट ४० प्रतिशत सांसद चयन हुने व्यवस्था छ । प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार प्रतिनिधिसभामा जानका लागि देशका १६५ निर्वाचन क्षेत्रमा दलहरू र स्वतन्त्रका तर्फबाट उम्मेदवारी परेको थियो । यस्तै सात प्रदेशको प्रदेशसभामा जानका लागि प्रत्यक्षतर्फ ३३० क्षेत्रमा उम्मेदवारी परेको थियो ।
प्रतिनिधि सभामा कुल २७५ सदस्य हुन्छन्, जसमध्ये प्रत्यक्ष प्रणालीबाट १६५ सांसद निर्वाचित हुन्छन् भने ११० जना सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । यस्तै देशमा रहेका ७ वटा प्रदेशहरूमा कुल ५५० प्रदेशसभा सदस्य हुन्छन् । यीमध्ये ३३० जना प्रत्यक्षबाट निर्वाचित हुन्छन् भने २२० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।
मङ्सिर ४ गते निर्वाचन हुनु अगावै गत असोज २ र ३ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूबाट समानुपातिकतर्फको बन्दसूची लिएको थियो । सो बन्दसूचीमाथि छानविन गरेर आयोगले समानुपातिक तर्फका उम्मेदवारको अन्तिम बन्दसूची समेत निकालिसकेको छ ।
राजनीतिक दलहरूले प्रतिनिधिसभाका लागि बढीमा ११० र प्रदेशसभाका लागि बढीमा २२० उम्मेदवारको नाम बुझाएका छन् । यसका लागि ६८ दलले आयोगमा बन्दसूची पेस गरेका थिए । समानुपातिक निर्वाचन प्रणालीमा सिङ्गो देशलाई नै एउटा निर्वाचन क्षेत्र मानेर कुल मत एकैठाउँमा राखिन्छ । प्राप्त मतमध्ये प्रतिशतका आधारमा सिट भागवण्डा गरेर सांसद छान्ने प्रक्रिया अपनाइन्छ ।
समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्दा सबैभन्दा धेरैमा ११० र कम्तीमा ११ उम्मेदवारको नाम बन्दसूचीमा समावेश गर्नुपर्ने व्यवस्था छ । उम्मेदवार बन्दसूचीमा राख्दा समावेशी सिद्धान्तअनुसार दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु र मुस्लिमको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । समावेशी प्रतिनिधित्वको सिद्धान्त अनुसार समानुपातिक उम्मेदवार सूचीमा खस–आर्य ३१।२ प्रतिशत, आदिवासी जनजाति २८।७ प्रतिशत, मधेसी १५।३ प्रतिशत, दलित १३।८ प्रतिशत, थारु ६।६ प्रतिशत, मुस्लिम ४।४ प्रतिशत, पिछडिएको क्षेत्रबाट ४ प्रतिशत हुनुपर्नेछ । यो प्रतिशतभित्र पनि कम्तीमा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।
दलहरूले समानुपातिक मतगणनामा पाएको कुल मत अनुसार त्यसलाई भाग लगाएर सांसद सङ्ख्या निर्धारण गरिन्छ । दलहरूले सांसद सङ्ख्या पाएपछि यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार मनोनयन गर्नुपर्ने व्यवस्था छ ।
कुल समानुपातिक मतबाट कसरी निकालिन्छ सिट सङ्ख्या ?
समानुपातिक प्रणालीमा सिङ्गो देशलाई एउटा क्षेत्र मानेर राजनीतिक दलले १६५ निर्वाचन क्षेत्रबाट पाएको मतको एकमुस्ट रूपमा गणना हुने आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए ।
समानुपातिक सिटका लागि कुल खसेको मतको ३ प्रतिशत मत कटाउने दलले मात्र सिट सुरक्षित गर्न सक्छन् । ३ प्रतिशत मत नपाउने दलले समानुपातिक तर्फको सिट पाउन नसक्ने व्यवस्था छ भने सो मत सिटका लागि गणनाभित्र नपर्ने हुन्छ अर्थात् खेर जान्छ । समानुपातिक मतबाट सिट विभाजनका लागि निम्न विधि अपनाइने सहप्रवक्ता अर्यालको भनाइ छ
१, देशभरि खसेको समानुपातिक तर्फको मतको कुल सङ्ख्याबाट ३ प्रतिशत मत कति हुन्छ पत्ता लगाउने
२, ३ प्रतिशतको थ्रेस होल्ड कटाउने र नकटाउने दलको पहिचान गर्ने
३, समानुपातिक सिटका लागि ३ प्रतिशत मत कटाउने दलहरूलाई लिने र ३ प्रतिशत मत कटाउने दलहरूले पाएको मतलाई जोडेर कुल योगफल निकाल्ने
४, सो कुल योगफललाई समानुपातिकको कुल सिट सङ्ख्या ११० ले भाग गर्ने ।
५, ११० ले भाग गर्दा जति अङ्क आउँछ त्यो अङ्कले फेरि ३ प्रतिशत मत कटाएका राजनीतिक दलले पाएको समानुपातिक तर्फको कुल मतलाई भाग गर्ने
६, सो भाग गर्दा जुन अङ्क आउँछ त्यति हाराहारीको सिट पाउने अवस्था हुन्छ । ratopati
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com