काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भइसकेपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका जनप्रतिनिधिहरु मतदातालाई धन्यवाद ज्ञापन गर्न भन्दै मतदाताहरुको घरघरमै पुगिरहेका छन् । आफूलाई विश्वास गरि मतदान गर्ने मतदाताहरुलाई धन्यवाद भन्न प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोध र प्रदेश सभा सदस्य सहल सहयात्री दुबै जना गाउँका कुना कन्दरासम्म पुगिरहेका छन् । चुनाव अघि भोट माग्न जसरी गाउँ गाउँ पुगेका थिए अहिले निर्वाचित भइसकेपछि पनि उसैगरी धन्यवाद भन्न गाउँ पुगेका हुन् । तर मतदाताहरुले उत्साहीत भएर खादा माला र स्वागतलाई तामझामपूर्ण बनाएपछि सांसदद्धय सुवोध र सहयात्रीले खादा माला र अविरजात्राको कार्यक्रम नगर्न मतदातासमक्ष अपिल गरेका छन् ।
सांसद सापकोटाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ का प्रिय मतदाताज्यूहरु, तपाईंहरुले आफ्नो अमूल्य मत दिएर प्रतिनिधि छानिसक्नु भएको छ । तपाईंहरुप्रति आभार व्यक्त गर्न र जनप्रतिनिधिले निभाउनु पर्ने भूमिकामा यहाँहरुको रचनात्मक सुझावका लागि क्षेत्र नंबर १ का विभिन्न गाउँवस्तीमा पुग्ने कार्यक्रम छ । भेटघाट र भलाकुसारी गरौं, भड्किलो कार्यक्रमलाई निरुत्साहित गरौं ।’
खादा मालाको ओइरो लागेपछि सांसदहरुले आफ्नो लागि ल्याएको खादामाला मतदाताहरुलाई नै लगाइदिएर मतदाताको सम्मान गर्ने गरेका छन् ।
मतदातालाई धन्यवाद दिँदै गाउँका तात्कालिन र दिर्घकालिन आवश्यकता र विकासका योजनाहरुबारे छलफल गर्दै हिँडिरहेका बेला खादा माला र भड्कीलो कार्यक्रम गरेको सन्देश जान नहुनेतर्फ आफूहरु सचेत रहेको सांसद सापकोटाको भनाई छ । प्रदेश सभा सदस्य सहयात्रीले पनि भने, ‘हामी नितान्त मतदाताको सम्मानका लागि पुनः गाउँ डुलिरहेका छौँ । उहाँहरुको आवश्यकतालाई टिपोट गरिरहेका छौँ तर खादा माला र अबीर जात्राको कत्ति पनि चाहना गरेका छैनौँ, यसो नगर्न म विनमैताका साथ मतदाताहरुलाई अनुरोध गर्दछु ।’
निर्वाचित भए लगत्तै सांसदद्धय सुवोध र सहयात्री भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका, लिशंखुपाखर सहितका गाउँहरुमा पुगिरहेका छन् । जहीँतहीँ खादामाला र अबिर जात्रा भइरहेपछि नवनिर्वाचित सांसदहरुले अनावश्यक भएको भन्दै असहज महसुस गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com