White Khabarप्रकाशित मिति: २०७९ मंसिर १५, बिहिबार (२ साल अघि)
१५०७ पाठक संख्या
मंसीर, १५ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत सोलुखुम्बुको निर्वाचन चाखलाग्दो रहयो। लामो र गर्बिलो इतिहास बोकेका पार्टीहरु मैदानमा ओर्लिए।उनिहरुले गाउँमा गएर विकासको निर्विकल्प योजना आफुसित मात्रै भएको दलील पेस गरे र पार्टीको संगठित सदस्य/ कृयाशील कार्यकर्ताको बाहुबलमा निश्चित मत ल्याएर कोही विजेता र कोही उपविजेता बने। जसले जिते पनि करिव सबै दलका समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मत घटेर आयो र अप्रत्याशित रुपमा निर्वाचन प्रचारप्रसार बिना र उम्मेदवार बिना नै नवनिर्मित पार्टी-राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा करिव एक हजारको आसपास मत खसेको देखियो।यो मतदाताहरुको शालीन विद्रोह हो, असन्तुष्टिको मौन आवाज हो, जिल्लामा मौजुदा दलहरुलाई चेतावनी हो र दलहरुको अकर्मण्यताप्रतिको दिकदारी हो।
जिल्लामा बलिया मानिएका दलहरु(विशेषत: नेपाली कांग्रेस) मा अनुशासनको खरेडी लागेको छ, विधि र पद्धतिको अनिकाल छ, र लोकतान्त्रिक समाजवाद नामक सैद्धान्तिक धरातलमा पहिरो जान लागेको छ।सासू र बुहारीहरु पुरातनवादी कलहकै दलदलमा फसिरहेको महसुस हुन्छ।बुहारीहरु कुनै दिन सासुमा परिणत हुँदा लोकतान्त्रिक चरित्रका बन्लान् भन्नेमा संदेहपूर्ण स्थिति पैदा भएको छ। पार्टीको लेटरप्याड नामक रंगमंचमा कारवाही र पुरस्कार नामक नाटक प्रदर्शनको क्रम जारी छ। जितको पिताहरु थुप्रै छन् तर हारको जिम्मेवारी कोही लिनेवाला छैन, विगतबाट शिक्षा लिन कोही उभिनेवाला छैन।
स्थानीय तहको निर्वाचनमा पार्टीलाई मतदाताहरुले गरेको विश्वास करिव आधा घटेको समानुपातिक मतले देखाउछ तर आजसम्म एक समुहले अर्को समुहलाई कटाक्ष गरेको बाहेक अर्को प्रयास देखिदैन।पार्टीमा विचार समुहहरुको निर्माण हुनु प्रगतिशील कुरो नै हो तर पार्टीलाई सिध्याउन निर्मित गुट/उपगुट किमार्थ ठिक होइन।पार्टीका नेताहरु जनताको साथमा रहेर अब समाज समृद्धिको सल्लाह गर्ने बेलामा सबै नेताहरु काठमाडौमा केन्द्रीकृत छन् , उता जनताहरु मनको मन्दिरबाटै घण्टी बजाउन योजना बनाउनेतर्फ तल्लीन देखिन्छन्।
के राजनीति सांसद , मन्त्री र प्रधानमन्त्री लगायतमा पुग्न मात्रै हो? के सरकारी सुबिधामा किड्नी फेर्न मात्रै हो?जनसेवाको लागि होइन? होइन भने जनताले विकल्पको विगुल फुक्नेवाला छन्। म ठूलो पार्टीको नेता हुँ भन्नु त मेरा बाले उहिले घिउ खाकाथे नपत्याए मेरो हात सुँघ त भनेझै हुने देखिन्छ।
बी. पी. को सपना के यति थियो त? पार्टी चल्न र जनसेवामा समर्पित हुन के टिकट सिफारिस गर्ने बेला मात्रै पार्टीको बैठक बसे पुग्छ त? एक पक्षले गरेको निर्णयविरुद्ध प्रेस बिज्ञप्ति जारी गरेर मात्रै पदीय दायित्व पूरा हुन्छ त? कार्बाहीको सिफारिस गरेर मात्रै पार्टीमा अनुशासन कायम होला त? हो भने इटको जवाफ पत्थरले दिएर बस्नुहोला अनि जनताले मतको शालीन विद्रोहद्वारा उत्तर दिनेछन्।
होइन भने पार्टी विधी, पद्धति र राजनैतिक सिद्धान्तको धरातलमा उभिएर चल्नुपर्दछ, उच्च नैतिकता र न्यायका साथ चल्नुपर्दछ।आधिकारिक रुपमा निर्वाचित पार्टीको संरचनाद्वारा चल्नु पर्दछ। उक्त पार्टी क्षमा याचनाका साथ जनताको घरमा पुग्नुपर्दछ। जनजीवनसित प्रत्यक्ष सरोकार रहेका मुद्दा लिएर जनताको साथी बन्न तत्पर रहनु पर्दछ।एकले अर्कालाई पुर्ने खाडल खनेर कहिँ पुगिदैन जिल्लाको मुहार फेर्न आवश्यक विकासको खाका निर्माणमा लाग्नु पर्नेछ। त्यो भन्दा पनि बढी आफू सुधृनु पर्नेछ, उधृनतिर लाग्ने किमार्थ होइन।