काठमाण्डौ । यतिबेला लैंगिक हिंसा बिरुद्घ १६ दिने अभियान चलिरहेको छ । नोभेम्बर २५ तारिखलाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइँदै आएको छ ।
‘१६ दिने अभियान’का रूपमा परिचित यो दिवसको अवसर पारेर विश्वव्यापी रूपमै विभिन्न कार्यक्रमहरूको अयोजना गर्ने गरिएको छ । यसपालि नेपालमा पनि “सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरूद्धको अभियान“ भन्ने नाराका साथ लैंगिक हिंसा बिरुद्घका विभिन्न कार्यक्रम भईरहेका छन् । तर, अभियान चलिरहदा नेपालमा निकै दर्दनाक महिला हिंसाका घटना घटे ।
केहि दिनअघि मात्रै काठमाण्डौमा दाइजोका बिषयमा दिइएको यातना सहन नसकेपछि २५ वर्षकी २५ वर्षकी दीपाले आत्महत्या गरिन् । कुनै ठाउँमा श्रीमानले श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा राखेर भाग्दै गरेको त, कतै टुंगो लागिसकेको विवाह नहुँदा आत्मदाह गरेको घटनाले विक्षिप्त बनाएको छ ।
यी हिंसाका डरलाग्दा घटना लैंगिक हिंसा बिरुद्घ १६ दिने अभियान चलिरहँदा नै घटेका हुन् । हामीले वर्षेनी लैंगिक हिंसा बिरुद्घका अभियान चलाउँदै आएका छौँ । तर, यस्ता हिंसात्मक घटनामा कमि आउनुको साटो झन बढेको देखिन्छ । अनि प्रश्न आउँछ हामीले गरेका अभियान एउटा व्यानर र सिमित ठाउँमा मात्रै पो सिमित भयो कि ? कि हामीले समाजमा बुझाउन सकेनौ या समाजले बुझेन ?
अभियान चलाइरहदाँ र दिवसको नाममा विभिन्न कार्यक्रमहरुलाई औपचारिकता दिँदै गर्दा हाम्रा कार्यक्रम कत्तिको प्रभावकारी भइरहेका छन् ? एक पटक सरोकारावालाले सोच्ने बेला आएन र ? कि अझै कार्यक्रमको नाममा लाखौँ करोडौँ पैसा सक्ने ? प्रभावकारी सून्य हुने कार्यक्रम गरिरहने ? यो आजको मूल प्रश्न हो ।
आज विश्वभरका नारीहरू विभेदका हरेक क्षेत्रमा आफ्नो फरक मत राख्ने र खुलेआम प्रश्न गर्न सक्ने भएका छन् । तर, हाम्रो मुलुकमा आज पनि दर्दनाक अवस्था छ । छोरिको जीवनसंग खेल्ने अधिकार कसैलाई पनि छैन । राज्यले महिला हिंसामा संलग्नलाई कानुनी दायरामा ल्याओस् । यसरी हिंसा विरोधमा अभियान चलिरहेको समयमा यस्ता किसिमका घट्नाहरू भईरहन्छन् भने यी अभियानको औचित्य के ?
इन्दिरा निरौलाको फेसबुकबाट साभार
(निरौला नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि तथा राष्ट्रिय भूमि आयोग सिन्धुलीकी सदस्य हुन् )
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com