
पौष १, सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन अघि गाउँमा भोट माग्न पुगेका सांसदद्वय माधव सापकोटा सुबोध र सरल सहयात्री पौडेल जितपछि गाउँमै व्यस्त छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सुबोध र प्रदेशसभा सदस्य सरल मतदातालाई धन्यावाद दिन तथा उनीहरुको गुनासा र समस्या सुन्न टोल–टोल मै पुगेका हुन् । मतपरिणाम आएसँगै अत्यावस्यक काम बाहेक राजधानी काठमाण्डौ कमै आएको उनीहरु बताउँछन् । एउटै क्षेत्रबाट जितेका माओवादी नेता तथा सांसदद्वय सुबोध र सरल खानेपानी र सडकलाई प्राथमिकतामा राखेर गाउँ छिरेका सचिवालयले जनाएको छ । जितपछि गाउँ गाउँ पुगेका उनीहरुले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित खानेपानी र सडक आयोजनाका बारेमा जानकारी लिने तथा अनुगमन गरिरहेका छन् ।
केही दिनअघि मात्रै चौतारासाँगाचोकगढी नगरपालिका आहालडाँडामा बोरिङ खानेपानी आयोजनाको प्राविधिक टिमसहित अध्ययन गरेर फर्किएका उनीहरु आज सुकुटेमा छन् । सुकुटेमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा उनीहरुले त्यहाँका पर्यटन व्यवसायीहरुसँग छलफल गरेको सांसद सुबोधको सचिवालयले जनाएको छ ।
जितपछि नागरिकका गुनासा र समस्या सुन्न आफू गाउँमै रहेको सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुबोधले बताए । उनले भने, ‘नेताले जितेपछि गाउँ फर्किदैनन् भन्ने आम मतदाताको गुनासो छ, यसलाई चिर्न अहिले म गाउँघरमै छु ।’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा रहेका आयोजनाहरूको अनुगमन गरिरहेको छु, रोकिएका आयोजनामा बजेट हाल्न र नयाँ योजना कार्यान्वयन गराउन सक्दो प्रयास गर्ने सुबोधले बताए ।
विजयी भएपछि आफू पनि गाउँमै रहेको सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ बाट विजयी सरल सहयात्री पौडेलले बताए । उनले भने, ‘जसरी निर्वाचन अगाडि आम मतदाता कहाँ भोट माग्न गएको थिएँ, त्यसरी नै अहिले नागरिकको समस्या बुझ्न गाउँमा आएको छु ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com