साउन, ३० । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको बसपार्कलाई थप व्यवस्थित बनाईने भएको छ । लामो समयदेखि अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको बसपार्कलाई ढलानसहितको स्तरउन्नती गरि ब्यवस्थित गर्न लागिएको हो ।
सोलुदुधकुण्ड नगरपालिकाको पहलमा सहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले बसपार्कको स्तरउन्नती गर्ने भएको छ । विगतका वर्षहरुमा बसपार्कलाई सहज सञ्चालनका लागि नगरपालिकाले मर्मत तथा स्तरउन्नती गर्दै आएको थियो ।
वर्षेनी वर्षातको समयमा हिलाम्मे भई बस तथा जीप पार्किङमा समस्या हुने गरेकाले यो वर्ष भने भवन कार्यालय ओखलढुंगाले ढलानसहितको बसपार्कको स्तरउन्नती गर्न लागेको हो । स्तरउन्नतीका लागि एक करोड रकम खर्चिने भएको छ ।
बसपार्कको स्तरउन्नतीका लागि प्राविधिकले सर्भे गरिसकेकाले अब छिट्टै काम सुरु गरिने नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताए । उनले भने, ‘हामीले वर्षेनी स्तरउन्नतीको काम त गरेका थियौँ, तर वर्षातको समयमा भने बसपार्क हिलाम्मे हुने समस्याले गर्दा ढलानसहितको स्तरउन्नती गर्ने योजना बनाएका छौँ ।’ यो वर्ष स्तरउन्नतीको काम सकेर सहज बसपार्कको व्यवस्थापन हुने मेयर शेर्पाको भनाई छ ।
राजधानी कामठमाण्डौसहित पूर्वी नेपालका जिल्लाहरुका लागि सल्लेरी बसपार्क हुँदै दैनिक रुपमा सय भन्दा बढि बस तथा जीपहरु छुट्ने गर्दछन् । यो वसपार्कको स्तरउन्नती सम्पन्न भएपछि ४५ वटा ठूला बस तथा ७५ वटा भन्दा बढि जीप तथा साना सवारी साधन पार्किङ गर्न सकिने छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com