भदौ, २५ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले ७ दिने निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । नेपाल नेत्रज्योती संघ किर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाले आगामी भदौ ३० र ३१ गते तथा असोज १ र २ गते शिविर सञ्चालन गर्न लागेको हो ।
भदौ ३० गते ककलिङ हरिसिद्धि मावि र जेठल स्वास्थ्य चौकी शिलढुंगामा शिविर सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । त्यस्तै, भदौ ३१ गते अत्तरपुर स्वास्थ्य चौकीमा, असोज १ गते ठूलोधादिङ स्वास्थ्य चौकी र असोज २ गते बाफल सामूदायिक स्वास्थ्य ईकाईमा शिविर सञ्चालन गरिनेछ । असोज ३ देखि ५ गतेसम्म भने शल्यक्रिया शिविर सञ्चालन हुनेछ ।
दृष्टिको महत्व बुझौँ, स्वस्थ आँखा स्वच्छ आँखा भन्ने नारासहित गाउँपालिकाले नागरिकलाई स्थानीय स्तरमै निशुल्क आखाँ जाँचको लागि व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष राजु लामाले बताए । उनले पायक पर्ने स्थानमा गई सेवा लिन नागरिकहरुलाई आग्रह समेत गरेका छन् ।
गाउँपालिकाले आँखा शिविरमा आँखाको मोतिविन्दु भएका विरामी छनोट भएमा उनीहरुको लागि निशुल्क शल्यक्रियाको पनि व्यवस्था मिलाएको छ । शिविरमा आँखाको मोतीबिन्दुको शल्यक्रियाको लागि छनोट भएका विरामीलाई डाँडापाखर स्वास्थ्य चौकीमा असोज ३ देखि ५ गतेसम्म शिविरको व्यवस्था मिलाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com