काठमाण्डौ, साउन ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच छलफलको शृङ्खला बढ्दै गएको छ । सोही क्रममा डा. भट्टराईले प्रचण्डलाई माओवादी केन्द्र पुनर्गठन गर्न प्रस्ताव गरेका छन् ।
पूर्व नयाँ शक्तिमा माओवादीबाट गएका नेताहरु बाबुरामलाई माओवादी केन्द्रमै फर्किन दबाब दिइरहेका बेला उनले प्रचण्डसँगको भेटलाई बाक्लो बनाएका छन् । पछिल्लो समय नयाँ पार्टी बनाउनुभन्दा माओवादी केन्द्रमै फर्किने र त्यसलाई रुपान्तरण गर्ने दबाब बाबुराममाथि बढ्न थालेको छ । बाबुरामले पार्टीको नाम परिवर्तन गर्ने र समग्र पार्टीलाई नै रुपान्तर गरेर अगाडि बढौं भनेर प्रचण्डसमक्ष पटकपटक प्रस्ताव गरेको उनको सचिवालयले बताएको छ ।
अध्यक्ष प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि पटकपटक भेट भई यस विषयमा छलफल गरिसकेका छन् । पार्टी एकता वा पार्टीमै आउन नसकेपछि समाजवादी केन्द्र खोलेर सहकार्य गर्न सकिने प्रस्ताव बाबुराम भट्टराईले राख्दै आएका छन् । प्रचण्डले भने सबै कम्युनिस्ट एक ठाउँमा रहनु पर्छ भन्दै जसपाबाट कारवाही नहुँदै बाबुरामलाई माओवादी केन्द्रमै आउन आग्रह गरिसकेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलादेखि नै बाबुरामलाई माओवादी केन्द्रमा फर्कन आग्रह गर्दै आएका थिए । तर, माओवादी केन्द्रको नाम परिवर्तन गरे आफू फर्कन सक्ने प्रस्ताव बाबुरामले गरेको प्रचण्ड निकट एक नेताले बताए ।
यता, माओवादीका केही नेताहरुले भने पार्टीको नाम जेसुकै भए पनि त्यसमा कम्युनिस्ट शब्द झुण्डिएकै हुनुपर्ने बताउँदै आएका छन् । बाबुरामलाई ल्याउनका लागि प्रचण्ड पार्टीको नाम फेर्न सकारात्मक देखिएका छन् तर, उनकै साथमा रहेका वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादवलगायतका नेताहरु नमान्ने पक्षमा रहेको बुझिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com