काठमाण्डौ, साउन १० । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ ।
गत जेठ १४ गते राति बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए ।
त्यही दिनको सीसीटीभी फुटेज डिलिट भएको मन्त्रालयले जवाफ दिएको थियो । तर, नेपाल प्रहरीको विज्ञ टोलीले सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ ।
एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो । ती क्लिपहरु आजको विशेष समिति बैठकमा सदस्यहरुले हेरेका छन् । ती क्लिपहरु राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि छन् । केही अस्पष्ट रहेको भन्दै त्यसबारे फरेक्सिक विज्ञहरुसँग परामर्श गर्ने भन्दै बैठक स्थगित गरिएको छ ।
समितिको अर्को बैठक आजै अपराह्न ४ बजे फेरि बस्ने छ । सोही बैठकमा विज्ञहरुलाई बोलाएर ती भिडियो क्लिपबारे जानकारी लिएर स्पष्ट हुने समितिका सचिव सरेन्द्र अर्यालले जानकारी दिए ।
आर्थिक वर्ष २०७९÷८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप लागेपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बनेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com