काठमाण्डौ, साउन १२ । राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव प्रस्तुत गरेका थिए ।
विधेयकमाथि सत्ता गठबन्धन दलले समर्थन गरेका थिए भने प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो । नागरिकता विधेयकमाथिको छलफलका क्रममा संशोधनकर्ता सत्ता गठबन्धन दलका सांसदले संशोधन प्रस्ताव फिर्ता लिए भने प्रमुख प्रतिपक्षी दलका सांसद र एक स्वतन्त्र सांसदले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।
फिर्ता लिन नचाहेको संशोधन प्रस्तावलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्ष बहुमत सांसदले अस्वीकृत गरे ।
राष्ट्रियसभाबाट पारित भएको नागरिकता सम्बन्धी विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिको हातमा पुग्नेछ ।
यस्तै प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त खानेपानी तथा सरसफाई विधेयक २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको अर्को बैठक साउन २३ गते सोमबारसम्मका लागि स्थगित भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com