साउन, २५ । निर्वाचनको मिति घोषणासँगै सोलुखुम्बुमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।
यो पटकको चुनावमा जिल्लामा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्ला चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि स्वतन्त्ररुपमा केही नयाँ व्यक्तिहरू पनि चुनाव लड्न अघि सरेका छन् ।
जिल्लामा प्रतिनिधि सभाका १ र प्रदेश सभाका २ निर्वाचन क्षेत्र छन् । २०७४ को निर्वाचनमा बाम गठवन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । प्रदेशसभामा एमालेले बाजी मार्यो । यो पटक भने गठबन्धन दल र एमालेबीच प्रतिष्पर्धा हुने देखिन्छ । यसअघिको स्थानीय तहको चुनावी नतिजालाई हेर्दा प्रदेश सभाका दुई क्षेत्रमा पूराना अनुहार दोहोरिने संभावना कम रहेको विश्लेषण हुन थालेको छ ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट जिल्लामा नेपाली कांग्रेस ५ , माओवादीले १ र एमालेले २ स्थानीय तहमा जित हासिल गरे । २०७४ को जस्तो सन्तोषजनक नतिजा नआएकाले यसपटक एमालेलाई विगतको विरासत जोगाउन भने चुनौती थपिएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा यो पटक प्रतिनिधिसभा सदस्यका लागि आकांक्षि धेरै जना रहेको देखिन्छ । संघको टिकटका लागि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीवटै दलका नेताहरु आन्तरिक तयारीमा जुटेका छन् । सोलुखुम्बुमा नेपाली काँग्रेसबाट पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्यद्धय बलबहादुर केसी र आङगेलु शेर्पा, पूर्व जिल्ला सभापति बिनोद बस्नेत, नेता प्रकाशसिंह कार्की संघको चुनावका लागि आकांक्षी देखिन्छन् ।
त्यस्तै, नेकपा एमालेबाट मानबिर राई छन् भने माओवादी केन्द्रबाट यो पटक पनि हेमकुमार राई सुरबिर नै अघि सर्ने देखिन्छ । उनले अघिल्लो चुनाव जितेका हुन् । गठबन्धन दलबीच चुनावी तालमेल हुने भएकोले यो पटक सोलुखुम्बुमा काँग्रेसले टिकट पाउने संभावना पनि छ । दुईवटा पालिका जितेको एमाले पाँचदलिय गठबन्धनका कारण आगामी चुनावमा खुम्चिने अनुमान गरिएको छ । यसअघिको चुनावमा प्रदेश सभा तर्फका दुवै क्षेत्रमा एमालेले जित हासिल गरेको थियो । एमालेका तर्फबाट यो पटक पनि प्रदेशसभामा पुरानै अनुहार दोहोरिने संभावना देखिएको छ ।
ग्ठवन्धनबाट टिकट पाएमा यो पटक माओवादीले प्रदेशको लागि सक्षम उम्मेदवारलाई अघि सार्ने देखिन्छ । प्रदेशसभाका लागि सागर किराती, गोम्बु शेर्पा, करुणा बस्नेतलगायतका व्यक्तिको जिल्लामा चर्चा रहेको छ । माओवादीका एक नेताले भने, ‘अघिल्लो चुनावमा माओवादीले जितेकाले यो पटक माओवादीले नै टिकट पाउने संभावना बलियो छ तर, अब सिट बाँडफाट गर्न बनेको कार्यदलले यसबारे टुंग्याउने नै छ । हामी हेमकुमार राईलाइ नै यो पटक दोहो¥याउने तयारीमा छौँ ।’
काँग्रेसमा पनि केही पुरानै अनुहार र केही नयाँ अनुहार आउने देखिन्छ । काँग्रेसलाई पार्टीभित्रको गुट, आकांक्षी धेरै भएका कारणले सिट बाँडफाँडमा त्यत्ति सहज भने छैन । यद्यपी गठबन्धनले सिट बाँडफाँट गर्ने हुँदा अहिले नै को उम्मेदवार बन्ने र कसले टिकट पाउने भन्ने निश्चित छैन । चुनावको मिति घोषणा भईसकेकाले आकांक्षिहरु उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com