साउन, २९ । आगामी मंसीर ४ गतेका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै उम्मेदवारको चर्चा सुरु भएको छ । यो पटकको चुनावमा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ । कालिकोटमा पनि पाँचदलिय गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
जिल्लामा गठबनधनबाट सम्भावित उम्मेदबारमा माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही र काँग्रेसबाट भुपेन्द्र जङ्ग शाही हुन् । पाँचदलीय गठबन्धनबाट काँग्रेस र माओवादी बाहेक अरु पार्टीका नेताहरुको खासै चर्चा छैन र संभावना पनि छैन ।
काँग्रेसबाट प्रतिनिधसभाका लागि भुपेन्द्र जङ्ग शाही सम्भावित उम्मेदवार हुन् । गठबन्धन भएको खण्डमा पनि कालिकोटको प्रतिनिधिसभा क्षेत्र काँग्रेसले आफुले पाउनुपर्ने शाहीको तर्क छ । यसअघि माओवादीले जितिसकेकाले पनि यो पटक पालो काँग्रेसको नै भएको उनको भनाई छ ।
उनी २०७४ को चुनावमा माओवादीका दुर्ग बहादुर रावतसँग पराजित भएका थिए । उनी पार्टीले टिकट दिए फेरि उम्मेदवार हुने योजनामा छन् । शाही भन्छन्, ‘कालिकोटमा अहिलेको जनमत हेर्ने हो भने मेरो पक्षमा छ, त्यसकारण यो पटक काँग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार म नै हो ।’
काँग्रेसभित्र संस्थापन इतर पक्षका शाही कालिकोटमा लोकप्रिय छन् । पार्टीको संगठन विस्तारमा उनको ठुलो योगदान रहेको पाइन्छ । युवाहरुले पनि उनलाई त्यत्तिकै रुचाउँछन् । यद्यपि कर्णालीमा काँग्रेस संस्थापन पक्षको वर्चश्व रहेकाले उनको विकल्पमा अरु आउनसक्ने संभावना पनि देखिन्छ । उनको विकल्पमा हर्ष बम, हिक्मत विष्ट लगायतका नेताहरु पनि सम्भावित उम्मेदवार हुन् ।
कालिकोटबाट प्रतिनिधिसभातर्फ अर्का उम्मेदवार हुन्, माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही । कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका उनी पनि यो पटक उम्मेदवार बन्ने तयारीमा छन् । माओवादीबाट कालिकोटमा उनको विकल्पमा अरु नेता देखिएका छैनन् ।
एमालेमा भने केन्द्रीय सदस्य एवं कालिकोट इञ्चार्ज नगेन्द्र शाही र पूर्वमन्त्री प्रेम सिंहको नाम चर्चामा छ । तर, गठबन्धनबाट उम्मेदवार बनेमा जिल्लामा एमालेलाई ठुलो चुनौती बन्न सक्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com