माघ १६ । नेपाल भ्रमणमा रहेकी अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डले गत पुस ११ गते गठित सात दलीय गठबन्धनको सरकारबारे चासो राखेकी छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको बनेको संयुक्त सरकारबारे उपविदेशमन्त्री नुल्यान्डले अर्को सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चासो राखेकी हुन्।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपालस्थित राजदूत डेन आर थम्पसनलाई लिएर पुगेकी उनले वर्तमान सरकारबारेमा ओलीसँग जिज्ञासा राखेकी हुन्।
ओलीको सचिवालयका अनुसार उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबारे चासो राखेपछि यसबारेमा प्रष्ट पार्ने काम भएको जनाएको छ। न्युल्यान्डले वर्तमान सरकार गठन, साझेदार दलहरु र यसले अमेरिकालाई हेर्ने दृष्टिकोणबारे ओलीसँग चासोपूर्वक जिज्ञासा राखेकी थिइन्।
त्यसक्रममा ओलीले सरकारको अहिलेको लक्ष्य विकास र समृद्धि भएको बताउँदै त्यसका लागि वैदेशिक लगानी आवश्यक रहेको पनि उल्लेख गरेका थिए। अहिले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढ्दै रहेको छु, उनले भने, यस बेला हामीलाई वैदेशिक लगानीको आवश्यकता रहेको छ। यो भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हित तथा सहयोगका विषयमा कुराकानी भएको बताइएको छ।
त्यसक्रममा अध्यक्ष ओलीले नेपालको आर्थिक, भौतिक पूर्वाधार विकास र सामाजिक क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका छन्। भेटका क्रममा नुल्यान्डले नेपालमा अझै बढी औद्योगिक विकास आवश्यक रहेको औँल्याएकी थिइन्।
उक्त भेटमा ओलीसँगै एमाले परराष्ट्र मामिला विभाग सचिव डाक्टर अन्जान शाक्य सहभागी थिइन्। उपविदेशमन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतवार काठमाडौं आइपुगेकी हुन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com