काठमाण्डौ, साउन १३ । एक पुरुषको हत्या गरी बिमाबाट दुई करोड ५० लाख लिने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको योजनाबद्ध रूपमा हत्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सपना मल्ल, मुख्य योजनाकार सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा रहेका छन् । यो समूहले मृतक विकको परिवारलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराइ दुई करोड ५० लाख रुपैयाँको बीमा गराएको पाइएको छ ।
नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले बताए । योजना अनुसार विकको हत्यापछि इन्सुरेन्सबाट आएको पैसा उनीहरूले बाँडेको पाइएको छ ।
सर्जन विकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा ज्यान गएको थियो । विकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनीबसले ठक्कर दिएपछि विकको ज्यान गएको थियो । दुर्घटनामा विकको ज्यान गएपछि क्षेत्रीलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिबाना गरी छाडिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com