साउन २५ । सोलुखुम्बु जिल्लाकै सुविधासम्पन्न सोलु सामुदायिक अस्पताल आगामी भदौ ३ गते देखि सञ्चालनमा आउने भएको छ ।
भवन निर्माणको काम ९० प्रतिशत सकिएकाले भदौ तीन गतेदेखि नै सञ्चालनमा ल्याउने तयारी गरिएको अस्पताल प्रमुख डा.राजेन्द्र बस्नेतले बताए । जिल्लाकै सुविधासम्पन्न अस्पताल बनाएर नागरिकलाई सेवा दिने उद्धेश्यले सोलुदुधकुण्ड नगरपालिकाको बौद्धमा अस्पतालको संरचना बनाउने काम भइरहेको छ ।
अहिले त्यहाँ साढे ३ करोडमा १५ शैयाको अस्पताल बनेको छ । त्यसैबाट नागरिकलाई सेवा सुरु गर्ने र एक वर्षभित्र त्यसलाई बढाएर ३० शैयाको बनाउने अस्पतालको योजना रहेको छ । मुनाफा वितरण नगर्ने गरि खोलिएको अस्पतालले सिटिस्क्यान, सर्जरी, एक्सरे, अल्ट्रासाउनलगायतका सेवा प्रदान गर्ने अस्पताल प्रमुख बस्नेतले बताए । उनले भने,‘हामी नाफामूलक नभई सेवामुलक भावनाले अस्पताल सञ्चालन गर्न लागिरहेका छौँ, अब छिट्टै हामी नागरिकलाई सुविधासम्पन्न भवनबाट सेवा दिदैछौँ ।’
पाँच वर्षभित्रमा सिटिस्क्यानसहित एक सय शैयाको सुविधासम्पन्न अस्पताल बनाउने योजनाअनुसार निर्माण कार्य धमाधम भईरहेको अस्पतालका कार्यकारी प्रमुख क्षितिज नकर्मीले बताए । पाँचवर्षमा अस्पताल संरचना निर्माणको काम सक्नेगरि १५ करोड बजेट छुट्याइएको छ । नगरपालिकाको नाजिङमा मेडिकल कलेज सञ्चालनका लागि १२ रोपनी जग्गा समेत लिइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com