काठमाडौं। नेपाल आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बांगीमा सोमबार भएको खेलमा कतारलाई ९ विकेटले पराजित गर्दै एक खेलअघि नै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
लगातार चौथो जित निकालेर सेमिफाइनल यात्रा सुरक्षित गरेको समूह ए बाट नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे हो । सोमबार भएको खेलमा कतारले जितको लागि दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा काजल श्रेष्ठले २८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रन र सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन जोडेको थियो । नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले समान एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com