माघ, १६। नेपालकै सबैभन्दा ठूलो निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको शेअर बिक्रीबारे प्रश्न उठेपछि सरकारले गठन गरेको छानबिन समितिले यथास्थितिमा शेअर खरिदबिक्रीको सम्झौता स्वीकार नगर्न सिफारिस गरेको समितिका संयोजकले बताएका छन्।
नेपालको नियामक निकायको स्वीकृति नलिई शेअर बिक्रीको सम्झौता भएको जानकारी सार्वजनिक भएपछि सरकारले मङ्सिर २१ गते पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमवार साँझ बुझाइएको प्रतिवेदनबारे शर्माले भने, “खरिदकर्ताको विश्लेषण गर्दा प्राविधिक वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टि हुने कागजात पेस नगरेको देखिँदा यो खरिदबिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त नहुने देखिन्छ।”
मलेसियन कम्पनी रहेको रेनोल्डस् होल्डिङ्स लिमिटेडको नाममा एनसेलमा रहेको शत प्रतिशत शेअर स्वामित्व ‘नेपाली मूलका सिङ्गापुरका नागरिक’ लगानीकर्ता रहेको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न लागिएको सार्वजनिक भएको थियो।
यसबारे नेपालका विभिन्न सरकारी निकाय र संसदीय समितिले प्रश्न उठाएका थिए। संसद्का सार्वजनिक लेखा समिति र राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेअर खरिद तथा बिक्रीको प्रक्रियालाई ‘यथास्थितिमा राख्न’ सरकारलाई निर्देशन दिएका थिए।
सांसदहरूले विसं २०८६ पछि एनसेलको विदेशी कम्पनीको नाममा रहेको शेअर सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था छल्न एनसेलको शेअर बिक्री गरिएको आशङ्का गरेका थिए। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com