काठमाण्डौ, १५ । केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले उपाधि माथि कब्जा जमाएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको त्रिभुवन आर्मी क्लबले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २४ रनमात्र बनाउन सक्यो ।
फाइनल खेलमा मधेस प्रदेशका लागि ब्याट्सम्यान विशाल पटेलले अविजित ४९ रनको योगदान गरे । त्यसअघि ओपनर ब्याट्सम्यान हरिशंकर साहले टोलीको खातामा २७ रन थपेका थिए । उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए ।
आर्मी क्लबका बलर विवेक यादव र साहब आलमले तीन—तीन विकेट लिए । विवेकले चार ओभरमा ३० रन खर्चिएका थिए । साहब आलमले भने किफायति बलिङ गर्दै तीन ओभरमा केवल पाँच रन खर्चिएका थिए । बसिर अहमद र सोमपाल कामीले पनि एक—एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com