फागुन, १७ । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केमैयुंङ गाउँपालिकाले आफ्नो गाउँपालिकामा पर्यटन प्रबद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ । गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले प्रचुर पर्यटकीय संभावना भएको गाउँपालिकामा पर्यटन विकास र प्रबद्र्धनका कार्यक्रमलाई आफुले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
गाउँपालिकाले सन् २०२५ अर्थात आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाले मुन्दुम ट्रेल भ्रमण २०२५ को आयोजना गर्ने भएको छ । जसका लागि गाउँपालिकाले आफ्नो पालिकासँग जोडिएका अर्थात मुन्दुम ट्रेलसंग जोडिएको स्थानीय तहसँग समन्वय गर्दै मुन्दुम ट्रेल भ्रमणको आयोजना गर्ने निर्णय गरेको हो । जसमा खोटाङको साकेला, रुपाकोट र केपीलासढी गाउँपालिका, भोजपुरकै सालपासिलिछो, भोजपुर नगरपालिका, सडानन्द नगरपालिकासँगको समन्वयमा गाउँपालिकाले १ लाख पर्यटक भित्राउने योजना बनाएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
मुन्दुम ट्रेल भ्रमण सफल बनाउन गाउँपालिका र नगरपालिकाहरुको सहभागितामा मूल ब्यवस्थापन समिति समेत गठन गरिएको छ । त्यस्तै, ट्रेलको पुर्वाधार निर्माणको लागि प्रदेश सरकार र केन्द्र सरकारलाई संयुक्त प्रस्ताव पेश गर्ने निर्णय गरिएको छ । योसँगै गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि अन्य कार्यक्रम सञ्चालन गर्ने र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । आफ्नो पालिकालाई पर्यटनकै माध्यमबाट समृद्ध बनाउन सकिने संभावना रहेकाले आफुले त्यसतर्फ ध्यान दिईरहेको अध्यक्ष बस्नेतको भनाई छ ।
मध्ये पहाडी राजमार्गले समेत छोएको यस गाउँपालिका पर्यटकीय हिसावले अत्यन्तै सुन्दर र संभावना बोकेको गाउँपालिका हो । गाउँ क्षेत्रबाट पश्चिम तर्फ रहेको टम्के डाँडो, सेल्मे डाँडा, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडा लगाएत मजुवा पोखरी, हास पोखरी, मैयुङ डाँडा, महिभर झरना, सावा झरना, पन्ची झरना, माक्सा झरना तथा तावा भञ्नज्याङ टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय गन्तब्यहरु हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com