वैशाख, २० । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पन्चनका आगलागी पीडितलाई आर्थीक सहित अन्य आवश्यक सामाग्री राहत दिने निर्णय गरेको छ । बिहिबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा जुम मार्फत बसेको कार्यपालिका बैठकले आर्थिक सहित अन्य सामाग्री दिने निर्णय गरेको हो ।
जंगलमा लागेको आगो बुधबार गाउँ पस्दा वडा नम्बर ३ को ९ घर जलेर पुर्णरुपमा नष्ट भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मानिस बस्दै आएको तीनवटा घर र मानिस नबस्ने सात घर जलेर पुर्णरुपमा नष्ट भएको छ । यस्तै गाईगोठ र बाख्राको खोर जेलेको छ भने केही चौपाय समेत जलेर घाइते भएका छन् ।
मानिस बसीरहेको तीनघर परिवारलाई प्रति परिवार रु. ५० हजार नगद सहित जस्तापाता, खाद्यन्न, लत्ताकपडा सहितको प्याकेजमा राहत प्रदान गरिने कार्यपालिका बैठकले निर्णय गरेको प्रवक्ता कार्कीले बताउँनुभयो । उहाँका अनुसार अन्य सात घर परिवारलाई प्रति परिवार रु।२५ हजार नगद राहत प्रदान गरिने छ ।
तीन घर परिवारलाई बासको समेत समस्या भएकाले बिहिबारनै जस्तापाता सहित अन्य आवश्यक सामाग्री हस्तान्तरण गरिने पालिकाले जनाएको छ ।
एकद्धार प्रणालीमार्फत राहत प्रदान गरिने
आगलागी पीडितलाई एकद्धार प्रणालीमार्फत राहत प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।जसको लागी संबन्धित वडाका वडा अध्यक्ष इन्द्रमणी दाहालको संयोजकत्वमा तीन सदस्य राहत वितरण तथा समन्वय समिति गठन गरिएको छ । जसको सदस्यमा वडा नम्बर दुईका वडा अध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोगक युजन बस्नेत र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की सदस्य रहने बताइएको छ ।
उक्त समितिले आगलागी पीडितलाई राहत सामाग्री उपलब्ध गराउन इच्छुक सबै संग समन्वय गर्ने र वितरणको लागि आवश्यक व्यवस्था गर्ने बताइएको छ ।
जंगलको डढेलो गाउँ पसेपछि खरको छाना भएको अधिकांश घरमा क्षति भएको छ । उक्त आगो नियन्त्रण गर्नकालागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयबासी र जनप्रतिनिधि लगायत खटेका थिए । बैठकले आगो नियन्त्रणमा खट्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । आगलागी जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबैजना सचेत हुनुपर्ने बताइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com