वैशाख, ३१ । प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी मार्फत २ अर्ब १ करोड भन्दा बढी रकमको कारोबार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले ढुंगानालाई नेपालको कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो । त्यस्तै प्रहरीले अमेरिका र क्यानडा लैजाने भनि मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ का वर्ष ४८ का जगतबहादुर तामाङ, तनहुँको ऋषिङ् गाउँपालिका २ का वर्ष ४६ का विष्णुबहादुर बराली र सोही ठाँउकै वर्ष ४८ का जंगबहादुर वि.क. (बराल) रहेका छन् । उनीहरुले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी खोसी नौ महिनासम्म अलपत्र पारी राखेको भट्टराईले बताउनुभयो ।
केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पु¥याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडगंजस्थित होटलमा बसी सङ्गठित रुपमा मानव तस्करीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । त्यस्तै यसैगरी अपराध अनुसन्धान कार्यालयले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट चार करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको छ । श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com