जेठ, ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारको प्रतिनिधिसभामा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने असभ्य रूपमा प्रस्तुत भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री लामिछाने असभ्य, भ्रामक र कपोलकल्पित ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँले गृहमन्त्रीको सो अभिव्यक्तिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको बताउनुभयो । अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट लामिछाने भाग्न खोजेको भन्दै कांग्रेसलाई गृहमन्त्रीले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न माग गर्ने निर्णय भएको लेखकले बताउनुभयो ।
सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिनामा सरकारका गृहमन्त्री लामिछाने संलग्न रहेको थप पुष्टि हुँदै गएकाले संसदीय छानबिन समिति बनाउनुपर्ने आफुहरुको बटमलाइन कायमै रहेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । यस्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने संसदको बैठक अवरुद्ध गर्ने निर्णय गरेको भन्दै लेखकले सहज ढंगले विश्वासको मत लिने भए संसदीय छानबिन समिति बनाएर आउन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com