जेठ, २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद भवन छिर्दा नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सी लगाएर गए । उनीहरुले संसद बैठक प्रवेश गर्नु अघि जर्सी लगाएको फोटो पनि खिचाए । रास्वपाका सबै सांसदहरू जर्सीसहित संसदमा जाँदा अन्य दल र स्वतन्त्र सांसदहरू भने अरु दिनझैँ औपचारिक पोसाकमा पुगेका थिए ।
टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा जर्सी लगाएको रास्वपा सांसदहरुले बताएका छन् । अहिले खेलकुद मन्त्री पनि रास्वपाकै सांसद विराजभक्त श्रेष्ठ रहेका छन् । तर, फोटोमा मन्त्री देखिएका छैनन् । खेलमुदमन्त्री बाहेक १२ जना रास्वपाका सांसदको सामुहिक तस्बीर देख्न सकिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल सहित सांसदहरु स्वर्णिम वाग्ले, सोबिता गौतम लगायत थिए । तोसिमा भने आज यो टीममा देखिइनन् । आजभोली खासै तोसीमा रास्वपामा बायस जस्तै बनेकी छिन् । उनलाई पहिलेजस्तो बाक्लो कार्यक्रमतिर पनि खासै देखिन छाडेको छ ।
लामो समयपछि नेपालले विश्वकप खेल्न लागेका यतिबेला खेलाडी, खेलप्रेमीसँगै सवै नेपालीहरु उत्साहित भएका छन् । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे ।
१० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । आजको ऐतिहासिक खेललाई नेपालले स्मरणयोग्य बनाउन हर सम्भव मिहेनत गर्नेछ । सुपर–८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार आज राति सवा ९ बजेबाट सुरु हुँदैछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com