काठमाण्डौ, साउन १३ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएको बारेमा संसदीय छानबिन समितिले गरेको अनुसन्धान पूर्ण र पर्याप्त नभएको भन्दै नेकपा एमालेले फरक मत राखेको छ । छानबिन समितिमा रहेका ११ सदस्य मध्ये एमालेका चार सांसद खगराज अधिकारी, प्रदीप ज्ञवाली, बिमला बिक र भानुभक्त ढकालले भने फरक मत राखेका हुन् । उनीहरुले फरक मत राख्दै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष समितिको अनुसन्धान पर्याप्त नभएकाले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने निष्कर्षमा पुग्न नसकिने बताएका हुन् ।
यसबारे गहिरो अनुसन्धान हुन नसकेको उनीहरुको भनाई छ । परिस्थितिजन्य प्रमाणहरुले अनधिकृत व्यक्तिको प्रवेश भएको आशंकालाई नै बल पु¥याउँने एमालेले बताएको छ ।
एमालेको ९ पृष्ठ लामो फरक मतमा अनधिकृत भनेर भनिएका व्यक्ति लगायतको कल डिटेल र मोबाइल लोकेसन हेर्न नदिइएको, बजेट निर्माणको रातिको सीसीटीभी फुटेज दुरुस्त अवस्थामा उपलब्ध नगराइएको बताइएको छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिले आज संसदमा प्रतिबेदन पेश गरेको छ । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण नभेटेको जनाएको हो ।
शर्मामाथि लागेको आरोपबारे समितिले १७ दिन लगाएर छानबिन गरेको थियो । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com